आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
सोमवार, असार २२, २०७७

काठमाडौँ, देशभर सोमबार सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको तथा भारतको उत्तर प्रदेशको उत्तर–पूर्वी भू–भाग नजिक रहेको निम्न चापीय क्षेत्र प्रभाव कायम रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर अधिकांश क्षेत्रमा बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश र बागमती प्रदेशका धेरै स्थान र प्रदेश १ तथा प्रदेश २ का केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश ५, गण्डकी प्रदेश र प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

राति पनि देशभर साधारणतया बदली रहनेछ । प्रदेश ५, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थान र प्रदेश १, प्रदेश २, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश ५, गण्डकी प्रदेश र वागमती प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश र बागमती प्रदेशका धेरै स्थान र प्रदेश १, प्रदेश २ का केही स्थानमा सोमबार मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै प्रदेश ५, गण्डकी प्रदेश र प्रदेश न १ का एक–दुई स्थानहरुमा भारी वर्षा सम्भावना रहेकाले सर्तकता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

नदीहरुमा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।