नेकपा स्थायी कमिटी बैठक बुधबारसम्मका लागि स्थगित

नेकपा स्थायी कमिटी बैठक बुधबारसम्मका लागि स्थगित
सोमवार, असार २२, २०७७

काठमाडौं- आज बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ ।

नेताहरुबीच सहमति प्रयासका लागि भन्दै स्थायी कमिटी बैठक आगामी बुधबारसम्मका लागि बैठक स्थगित गरिएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारी अनुसार अब स्थायी कमिटीको बैठक यही असार २४ गते ११ बजे बस्ने छ । यसबीचमा नेताहरुबीच सहमतिको प्रयास जारी रहने छ ।

स्थायी कमिटीका अधिकांश सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि नेकपाभित्र आन्तरिक कलह चुलिएको छ ।

प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्न ओलीलाई दबाव दिएका छन् । तर प्रधानमन्त्री ओली भने दुवै पद नछाड्ने अडान लिएका छन् ।

शीर्ष नेताहरुबीच सहमतिको प्रयासमा बैठक र छलफल हुँदै आए पनि सहमति पुगेको छैन ।