साउनबाट फेरी सुरु हुँदै इम्बोस्ड नम्बर प्लेट वितरण

साउनबाट फेरी सुरु हुँदै इम्बोस्ड नम्बर प्लेट वितरण
मङ्लबार, असार २३, २०७७

काठमाडौँ । अदालतको आदेशका कारण रोकिएको इम्बोस्ड नम्बर प्लेट वितरण कार्य साउनबाट फेरी सुरु हुने भएको छ ।

असार २१ गतेदेखि अनलाइन फाराम खुला गरेको विभागले साउन एकबाट वितरण सुरु गर्ने सूचनामा बताइएको छ । जसका लागी दुई पाङ्ग्रे सवारीका लागि २ हजार ५ सय, ३ पाङ्ग्रे सवारीका लागि २ हजार ९ सय र ४ पाङ्ग्रे तथा मझौला सवारीका लागि ३ हजार २ सय, ठूला सवारीका लागि ३ हजार ६ सय रुपियाँ शुल्क तोकिएको छ।

दुई पाङ्ग्रे सवारीका लागि यातायात व्यवस्था कार्यालय गुर्जुधारा, तीन पाङ्ग्रे र साना तथा मझौला चार पाङ्ग्रे सवारीका लागि सवारी परीक्षण कार्यालय टेकु, ठूला सवारीका लागि यातायात व्यवस्था कार्यालय एकान्तकुना र सरकारी सवारीका लागि यातायात व्यवस्था विभाग मीनभवन तोकिएको छ ।

यस अघि इम्बोस्ड नम्बर प्लेट सवारीसाधनको उच्च सुरक्षासहितको डिजिटल प्रणाली भनिए पनि अदालतले जडान तत्काल रोक्न भनी आदेश गरेको थियो।

२०७४ भदौ ९ गतेबाट साबिकको बाग्मती अञ्चलमा दर्ता भएका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट वितरण सुरु गरेको थियो तर नम्बर प्लेटमा अङ्ग्रेजी अक्षर प्रयोग भएका बारे अदालतमा मुद्दा परेपछि इम्बोस्ड नम्बर जडान स्थगित भएको थियो ।

हेर्नुहोस सूचना :