ओली–प्रचण्डबीच आज पनि छलफल हुँदै

ओली–प्रचण्डबीच आज पनि छलफल हुँदै
मङ्लबार, असार २३, २०७७

काठमाडौं-  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधानका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज (मंगलबार) पनि छलफल हुँदैछ ।

बिहान १० बजेपछि प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच बालुवाटारमा छलफल हुने भएको छ ।

‘उहाँहरु (अध्यक्षद्वय) बीच आज पनि छलफल हुँदैछ, तर समय निश्चित भइसकेको छैन,’ प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा (जुगल) ले भने, ‘सम्भवतः बिहान १० बजेपछि छलफल शुरु हुन्छ होला ।’

पार्टी विभाजनकै अवस्थामा पुग्ने गरी विवाद चर्किएपछि सोमबार पनि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एक्ला–एक्लै छलफल भएको थियो । आइतबार अन्य नेताहरुसहित वार्तामा बसेका उनीहरु सोमबार भने एक्ला एक्लै छलफलमा बसेका थिए ।

प्रधानमन्त्री केपी ओलीले पार्टी र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनु पर्ने दबबा भए पनि पद नत्याग्ने ओलीले अडान राख्दै आएका छन् ।

आज र भोलिसम्म नेकपामा सहमति हुने वा नहुने टुङ्गो लाग्ने एक स्थायी कमिटी सदस्यले जानकारी दिएका छन् ।