पार्टीको निर्णयविरुद्ध सरिता गिरी सर्वोच्च जाने

पार्टीको निर्णयविरुद्ध सरिता गिरी सर्वोच्च जाने
मङ्लबार, असार २३, २०७७

काठमाडौं- सरिता गिरीले आफूलाई सांसद र पार्टी सदस्यबाट निष्काशन गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालत जाने बताएकी छिन् ।

उनले पार्टीले गरेको निर्णय अवैधानिक भएको बताउँदै न्यायका लागि सर्वोच्च जाने बताएकी हुन् ।

सांसद गिरीले ४ सय २५ जनाको पार्टी केन्द्रीय कार्यसमितिको बैठक बसेर गर्नुपर्ने निर्णय केही व्यक्ति बसेर गरेको भन्दै कानुनविद्हरुसँग छलफल गरेर सर्वोच्च जाने बताएकी हुन् ।

उनले भनिन्, ‘ पार्टीको निर्णय संघीय कानून विपरित र संसदीय दलको विधानको धारा २६ विपरित रहेको छ, कुनै पनि सांसदलाई कारवाही गर्न संसदबाट निर्णय हुनुपर्छ । न्यायका लागि भोलि अदालत जान्छु ।’

समाजवादी पार्टीको आज बसेको बैठकले उनलाई सांसद र पार्टीको साधारण सदस्यबाट निष्काशित गर्ने निर्णय गरेको हो ।

नक्साका लागि हुन लागेको संविधान संशोधन विधेयक फिर्ताका लागि संसद सचिवालयमा सांसद गिरीले प्रस्ताव दर्ता गराएपछि उनलाई असार ८ गते बसेको पदाधिकारीको बैठकले स्पष्टीकरण सोधेको थियो ।

स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नआएको कारण उनलाई कारवाही गरेको पार्टीले जनाएको छ ।