ब्राजिलका राष्ट्रपतिलाई नै कोरोना संक्रमणको पुष्टि

ब्राजिलका राष्ट्रपतिलाई नै कोरोना संक्रमणको पुष्टि
बुधबार, असार २४, २०७७

काठमाडौं- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसले ब्राजिल आक्रान्त बनेको छ ।

सबैभन्दा धेरै प्रभावित मुलुकको दोस्रो नम्बरमा रहेको ब्राजिलमा कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दो क्रममा देखिएको छ ।

कोरोना संक्रमितको संख्या बढिरहँदा ब्राजिलियन राष्ट्रपति जाएर बोलसोनारोलाई नै कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएको पाइएको छ ।

उच्च ज्वरोलगायतका कोरोना संक्रमणका लक्षण देखिएपछि सोमबार चौथो पटक उनको स्वास्थ्य परीक्षण गरिएको थियो । परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ पाइएको बीबीसीले जनाएको छ ।

राष्ट्रपति बोलसोनारोले कोरोना महामारीलाई सुरुदेखि नै हल्का रुपमा लिँदै आएका थिए । कोरोनालाई ‘सामान्य फ्लु’ भन्दै उनले संक्रमण फैलिन नदिन गरिने लकडाउनको पनि विरोध गर्दै आएका छन् ।

उनले सार्वजनिक स्थानमा जाँदा मास्क पनि लगाउँदैनथे । धेरै स्थानमा उनी विना सामाजिक दुरी र विना मास्कमा देखिएका छन् ।

गत आइतबार विदेशमन्त्री अर्नेस्टो अराउजोले सामाजिक सन्जालमा राखेको एक तस्वीरमा बोलसोनारो अन्य नेताहरुसँगै मास्क नलगाइ बसेको देखिएको छ । ब्रिसिलियास्थित अमेरिकी दूतावासमा लिइएको सो तस्वीरमा सामाजिक दुरी पनि पालना गरेको देखिँदैन ।

कोरोना संक्रमण फैलिन नदिन गरिनुपर्ने सावधानीका उपाय नअपनाउँदा अहिले ब्राजिल सबैभन्दा बढी प्रभावित देशको सूचीमा अमेरिकापछि दोस्रो स्थानमा छ ।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार ब्राजिलमा १६ लाख ६८ हजारभन्दा धेरै व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणबाटै ब्राजिलमा ६६ हजार ७ सय ४१ जनाको मृत्यु भइसकेको छ ।