कोरोना महामारीकै बीच पर्यटकका लागि खुल्यो दुबई

कोरोना महामारीकै बीच पर्यटकका लागि खुल्यो दुबई
बुधबार, असार २४, २०७७

एजेन्सी- कोरोनाभाइरसको महामारीकै बीच पर्यटकका लागि दुबईमा मंगलबारदेखि बजार खुला गरिएको छ ।

यहाँ ठुल्ठूला सपिङ मलमा फ्रान्सेली फुटबल टिमका जर्सीदेखि अनेक सामानको किनबेच हुन थालेको बताइएको छ ।

पर्यटक आवागमनको अनिश्चितता र कोरोनाभाइरससँग अझै धेरै मुलुकहरु जुधिरहेको अवस्थामा यहाँका ठूला सपिङ मल र पर्यटकीय गन्तव्यहरु खुला गरिएका छन् ।

पछिल्लो समय दुबईको मुख्य आम्दानीको स्रोत पर्यटन पनि हो । दुबई सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्न सरकारले प्रयास थालिसकेको छ । नजिकिँदै गएको हिउँदे महिनामा पर्यटकलाई यहाँ आमन्त्रण गर्न दुबईले तयारी थालेको छ ।

मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गरिएको दुबईमा थर्मोमिटरबाट प्रत्येक आगन्तुकको शरीरको तापक्रम नाप्ने व्यवस्था गरिएको छ ।

“मेरो विचारमा यस्ता कार्यले मानिसमा दुबई घुम्न आत्मविश्वास बढाउँछ,” दुबईस्थित रोभ होटल्सका कर्पोरेट निर्देशक पल ब्रिजरले भने “तैपनि मानिसमा विश्वास जागृत गराउन केही समय लाग्नेछ ।”

पर्यटकीय गन्तव्यका लागि दुबई पछिल्ला वर्षमा निकै प्रख्यात छ ।

यी नियम अनिवार्य

यूएई जानेले उड्नुअघि कोभिड–१९ को परीक्षण गरेको हुनु पर्नेछ ।

अन्यथा, परीक्षण नगरेको अवस्थामा आगमनमै उनीहरुको परीक्षण गरिने तथा स्वास्थ्य प्रतिवेदन प्राप्त नहुँदासम्म आइसोलेसनमा बस्नु पर्नेछ ।

यूएई घुम्न जानेको कोभिड–१९ समेटिएको स्वास्थ्य बिमा अनिवार्य रुपमा गरेको हुनुपर्ने व्यवस्था पनि गरिएको छ ।

स्वास्थ्यको स्वघोषणाको फारम पनि भर्न पर्नेछ ।

पर्यटकले कोरोना भाइरससँग सम्बन्धित डीएक्सबी एप डाउनलोड गर्न पर्छ । त्यसमा आफ्नो विवरणहरु भर्न पर्छ ।