‘गो ब्याक चाइना’ भन्दै चिनियाँ दूतावास अगाडि नेविसंघको विरोध

‘गो ब्याक चाइना’ भन्दै चिनियाँ दूतावास अगाडि नेविसंघको विरोध
बुधबार, असार २४, २०७७

काठमाडौं- काठमाडौंस्थित चिनियाँ दूतावास अगाडि नेपाल विद्यार्थी संघका युवाहरूले प्रदर्शन गरेका छन्।

नेपालको आन्तरिक मामिलामा वैदेशिक हस्तक्षेप स्वीकार्य नहुने भन्दै हातमा नेपालका लागि चिनियाँ राजदूतको फोटो सहितको प्लेकार्ड बोकेर युवाहरूले प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा उत्रिएकाहरूले ‘गो ब्याक चाइना’ लेखेको प्लेकार्ड बोकेका थिए।

नेविसंघका कार्यकर्ताहरुले राजदूत होउ यान्छीको तस्बिर र प्ले कार्डसहित प्रदर्शन गरेका हुन्। नेकपाभित्र चर्को विवाद भइरहेको बेला यान्छीले नेताहरुलाई घरमै गएर भेटेपछि विरोध प्रदर्शन भएको हो ।

उनीहरुले यान्छीले कूटनीतिक मर्यादाविपरीत नेकपाका नेताहरुसँग भेटवार्ता गरेको आरोप लगाएका छन् ।

यान्छीले केहीदिन अघि नेकपाका वरिष्ठ माधवकुमार नेपाललाई भेटेकी थिइन भने मंगलबार बिहान मात्रै वरिष्ठ नेता झलनाथ खनालसँग निवासमै पुगेर भेट गरेकी थिइन् ।