छुट्टाछुट्टै घटनामा तीनको मृत्यु

छुट्टाछुट्टै घटनामा तीनको मृत्यु
बुधबार, असार २४, २०७७

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका घटनामा तीन जनाले ज्यान गुमाएका छन । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ शेरामा मङ्गलबार गाडी दुर्घटना हुँदा गाडीका सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बनेपाका अनुसार भक्तपुरको सूर्यविनायकबाट गाईवस्तुको मल लोड गरी काभ्रेपलाञ्चोकको नाला शेरातर्फ आउँदै गरेको बा१क ९२३६ नंको निसान गाडी ब्रेक फेल भई सडकमै पल्टिँदा भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका–७ बस्ने १८ वर्षीय सुजन वाग्लेको मृत्यु भएको हो ।

गाडी पल्टेर घाइते भएका वाग्लेको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

झापाको दमकमा विद्युत् चुहिएर मङ्गलबार एक युवाको मृत्यु भएको छ । दमक नगरपालिका–२ स्थित निर्माणाधीन आफ्नै घरमा पानी लगाउने क्रममा ट्युबेलमा जोडेको मोटरबाट विद्युत् चुहिँदा कमल–१ स्थित ढ्याङ्ग्री निवासी ४० वर्षीय मित्र डाँगीको घटनास्थलमै मृत्यु भएको कमल–१ का वडाध्यक्ष केदार कटुवालले जानकारी दिए ।

यता कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ मा मङ्गलबार ट्र्याक्टर दुर्घटना भएर सडकबाट तल खस्दा चालकको मृत्यु भएको छ ।

कास्की माछापुच्छ्रे बाटुलेथरमा ग१त २२८३ नंको ट्र्याक्टर खेत जोतेर फर्कने क्रममा अनियन्त्रित भई सडकबाट अन्दाजी पाँच मिटर तल खस्दा चालक सोही ठाउँ निवासी ४५ वर्षीय रामचन्द्र अधिकारीको ट्र्याक्टरले च्यापेर घाइते भएको र उपचारका क्रममा मृत्यु भएको प्रदेश प्रहरीका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।