डब्लुएचओबाट औपचारिक रुपमै बाहिरियो अमेरिका

डब्लुएचओबाट औपचारिक रुपमै बाहिरियो अमेरिका
बुधबार, असार २४, २०७७

एजेन्सी, अमेरिका औपचारिक रुपमै विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओ बाट बाहिरिएको छ।

संयुक्त राष्ट्रसंघको एउटा अंग मानिने डब्लुएचओका बारेमा राष्ट्रपति ट्रम्पले पटक पटक आलोचना गर्दै आफ्नो देश अलग हुने बताएका थिए ।

उनले विश्वभरी कोरोनाभाइरसको नियन्त्रण तथा न्यूनीकरणका लागि प्रभावकारी र सन्तोषजनक भूमिका खेल्न नसकेको भन्दै डब्लुएचओको आलोचना गरेका थिए।

अमेरिकी सञ्चार माध्यमहरुले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकालाई औपचारिक रुपमै डब्लुएचओबाट अलग गरेको बताएका छन् ।

राष्ट्रपति ट्रम्पले डब्लुएचओलाई चीनको पक्षमा काम गरेको र अमेरिकालाई बेवास्ता गरेको भन्दै असन्तुष्टी जनाउदै आएका थिए ।

उनको डब्लुएचओबाट अमेरिका बाहिरिने र डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्ने बारेमा अमेरिकाले औपचारिक रुपमै निर्णय गरेको अमेरिकी राष्ट्रपतिको कार्यालयका अधिकारीहरुले पुष्टि गरेका छन् ।

बाहिरिने सम्बन्धी पत्र अमेरिकी अधिकारीहरुले सोमबार नै लागु हुनेगरी राष्ट्रसंघका महासचिवलाई पठाएको पनि जनाइएको छ।

अमेरिकी सिनेटको विदेश मामिला समितिका रोबर्ट मेनेन्डेजले पनि सामाजिक सञ्जाल ट्वीटर मार्फत् यस बारेमा जानकारी दिएका छन्।

राष्ट्रपति ट्रम्पको असन्तुष्टिप्रति अन्य धेरै देशले असहमति जनाएका थिए भने डब्लुएचओबाट अलग हुने घोषणाप्रति चिन्ता व्यक्त गरेका थिए।