स्पेनिस ला लिगा : बार्सिलोनाको संघर्षपूर्ण जित, उपाधि होड रोमाञ्चक बन्दै

स्पेनिस ला लिगा : बार्सिलोनाको संघर्षपूर्ण जित, उपाधि होड रोमाञ्चक बन्दै
बिहिबार, असार २५, २०७७

एजेन्सी- स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले साँघुरो जित निकालेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले एस्पान्योललाई १-० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा बार्सिलोनाको जितका लागि खेलको एक मात्र गोल लुइस सुआरेजले गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा उनले गोल गरेका हुन् ।

खेलको ५६ औं मिनेटमा सुआरेजले खेलको एकमात्र निर्णायक गोल गर्दै घरेलु टोलिलाई १-० गोलको साँघुरो जित दिलाएका हुन् । यसअघि दुबै टोलि १० खेलाडीमा समेटिएका थिए । खेलको ५० औं मिनेटमा युवा स्ट्राइकर अन्सु फातिले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछी बार्सिलोना १० खेलाडीमा समेटिएको थियो ।

त्यसको तीन मिनेट नबित्दै एस्पान्योल पनि १० खेलाडीमा समेटिन पुग्यो । खेलको ५३ औं मिनेटमा एस्पान्योलका मिडफिल्डर पोल लोजानोले रातो कार्ड पाएपछि पाहुना टोलि पनि १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडसँगको अंक दूरी एकमा झारेको छ । बार्सिलोनाको ३५ खेलबाट ७६ अंक छ भने एक खेल कम खेलेको रियलको ७७ अंक छ । पराजित एस्पान्योल भने तालिमाको पुछारमा छ ।