सिन्धुपाल्चोक बाढी अपडेट : मृत्यु हुने २ को सनाखत, १८ बेपत्ता

सिन्धुपाल्चोक बाढी अपडेट : मृत्यु हुने २ को सनाखत, १८ बेपत्ता
बिहिबार, असार २५, २०७७

दिपिन ढुंगाना

सिन्धुपाल्चोक- गएराितबाट परेको अविरल वर्षासँगै सिन्धुपाल्चोकको भोटेकोसी नदी, ठाडो खोला लगायतमा आएको बाढीमा परी मृत्यु भएका दुई जनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा बाह्रबीसे नगरपालिका –५ जम्बुका २० वर्षीय निकेश बस्नेत र उनकी तीन वर्षीया छोरी रहेको प्रहरीले जनाएको छ । दुवैको शव फेला परेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्ले जानकारी दिए ।

घटनामाा १८ जना बेपत्ता तथा पाँच जना गम्भीर घाइते भएका छन् । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धारकार्य जारी राखेको छ ।

भोटेकोशी नदीको बाढीले अरनिको राजमार्गका विभिन्न ठाउँमा कटान गरेपछि आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रहरी सूचना अधिकारी काफ्लेका अनुसार जम्बुमा ११ घर र खागदलमा सानाठूला गरी २० घर टहरा बगाउनाका साथै पक्की पुलसमेत बगेका छन् । जम्बुका तीन गम्भीर घाइतेलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लैजाने प्रयास भइरहेको छ ।

त्यसैगरी भोटेकोशी गाउँपालिका –५ बुलकोटेमा स्थानीय खहरे खोलामा आएको बाढीले राजमार्ग छेउका तीन टहरासमेत बगाएको र चार जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए । बाढीले त्यहाँस्थित सानो पुलेसा (कल्भर्ट) समेत बगाएको छ ।

बाढीले धनजनको ठूलो क्षति भएपछि सभामुख अग्निप्रसाद सापकोटा हेलिकोप्टरमार्फत आज बिहान घटनास्थल जान लागेकोमा प्रतिकूल मौसमका कारण धुलिखेलबाट नै फर्किनुपरेको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।