सिन्धुपाल्चोक बाढी अपडेट : मृतक र बेपत्ताको परिचय खुल्यो (नामावलीसहित)

घाइतेको उपचार गर्न काठमाडौं ल्याइयो

सिन्धुपाल्चोक बाढी अपडेट : मृतक र बेपत्ताको परिचय खुल्यो (नामावलीसहित)
बिहिबार, असार २५, २०७७

दीपिन ढुङगाना 

सिन्धुपाल्चोक-गएराति अविरल वर्षासँगै सिन्धुपाल्चोकको ठाडो खोलामा आएको बाढीबाट जम्बु, खागदल र बुलकोटेमा मृत्यु भएका दुई जनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा बाह्रबीसे नगरपालिका –५ जम्बुका २० वर्षीय निकेश बस्नेत र उनकी तीन वर्षीया छोरी नियोन बस्नेतको शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बाह्रविसे नगरपालिकाका १६ जना र भोटेकोशी गाउँपालिकाका ४ गरी २० जना बेपत्ता भएका छन् ।

बाह्रविसे नगरपालिकाको कार्यालयका अनुसार बेपत्ता हुनेहरुमा भिमबहादुर वाईवा, चिनीमाया वाईवा, लिलामाया वाईवा, पासाङडोल्मा वाईवा, निमाडोल्मा वाईवा, लक्ष्मण वाईवा, सुनमाया वाईवा, जनकबहादुर वाईवा, सविना तामाङ, हिमेश शर्मा, आकाश तामाङ, आकाश केसी, तोकबहादुर तामाङ, युक्त कुमार तामाङ, सुवेश तामाङ र सलिना तामाङ छन् ।

त्यसैगरी भोटेकोसी गाउँपालिकाका बेपत्ता हुनेहरुमा निमादोर्जे तामाङ, मञ्जु तामाङ, पासाङ नोर्बु तामाङ र सहिल तामाङ रहेका छन् । भोटेकोशी नदीको बाढीले अरनिको राजमार्गका विभिन्न ठाउँमा कटान गरेपछि आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रहरीका जम्बुमा ११ घर र खागदलमा सानाठूला गरी २० घर टहरा बगाउनुका साथै पक्की पुलसमेत बगाएको छ । त्यस्तै बाढीले बगाएर घाइते भएका एक जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ । उनलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ ।