भूकम्पले क्षतिग्रस्त ५ लाख बढिको घर पुनर्निर्माण

भूकम्पले क्षतिग्रस्त ५ लाख बढिको घर पुनर्निर्माण
बिहिबार, असार २५, २०७७

काठमाडौं-भूकम्पबाट क्षति भएका मध्ये अहिलेसम्म ५ लाख ७ हजार ६ सय २३ घरको पुनर्निर्माण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

२ लाख २ हजार ६ सय ४३ घर पुनर्निर्माणको क्रममा रहेको प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले जनाकारी गराएका छन् । भूकम्पबाट सबैभन्दा धेरै मानवीय क्षति पुगेको सिन्धुपाल्चोक जिल्लामा सबैभन्दा धेरै ७० हजार ९७ घर पुनर्निर्माण सम्पन्न भएको छ ।

नुवाकोट जिल्लामा ६४ हजार १ सय २४ र भूकम्पको केन्द्रबिन्दु रहेको गोरखा जिल्लामा ५६ हजार घर पुनर्निर्माण सम्पन्न भएका छन् । गुम्बा र अन्य सांस्कृतिक सम्पदाहरुको पुननिर्माणको कामलाई महत्वका साथ अगाडी बढाउन निर्देशन दिएको विकास तथा प्रविधि समितिका सभापती कल्याणी कुमारी खड्काले जानकारी दिईन ।

चार सय २ वटा गुम्बाको मर्मत सम्भारको काम भएको र पुनर्निर्माण गर्नुपर्ने १ सय १७ वटा गुम्बा पुनर्निर्माणका लागि आगामी आर्थिक वर्षमा कार्यक्रम परेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको म्याद आगामी पुसमा सकिंदैछ । भूकम्पबाट प्रभावित संरचनाहरुको पुनर्निर्माण सम्बन्धी ऐन, २०७२ मा नेपाल सरकारले आवश्यक ठानेमा एक वर्ष थप्न सक्ने प्रावधान छ ।