कर्णाली प्रदेश अस्पतालमा चिकित्सकसहित ४ स्वास्थ्यकर्मी संक्रमित

कर्णाली प्रदेश अस्पतालमा चिकित्सकसहित ४ स्वास्थ्यकर्मी संक्रमित
बिहिबार, असार २५, २०७७

सुर्खेत-कर्णाली प्रदेश अस्पतालमा थप दुईजना चिकित्सक र दुईजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना विशेष अस्पतालमा दुईहप्ते ड्युटी सकेर १४ दिन क्वारेन्टिनमा बसेका दुईजना मेडिकल अफिसर, एकजना स्टार्फ नर्स र एक जना सिनियर अहेवमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए ।

निर्देशक खड्काका अनुसार संक्रमण देखिएपछि उनीहरुलाई अस्पतालकै आइसोलेसनमा राखिएको छ । यसअघि पनि असार ११ गते दुई जना चिकित्सक सहित ९ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको थियो ।

उनीहरु आइतबार मात्रै कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । यसैबीच, बुधबार कर्णालीमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कर्णालीमा कुल संक्रमितको संख्या १ हजार ५ सय ५० पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये १ हजार २ सय ९१ जना डिस्चार्ज भएका छन् भने ६ जनाको मृत्यु भएको छ । आइसोलेसनमा २५३ जनाको उपचार भइरहेको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।