भारतीय च्यानल बन्द गर्ने निर्णय

भारतीय च्यानल बन्द गर्ने निर्णय
सांकेतिक तस्वीर
बिहिबार, असार २५, २०७७

काठमाडौं- विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् ।

च्यानल वितरकहरुले बिहीबार साँझदेखि सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय भएको मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए ।

भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरन्जित र अनर्गल प्रचार गरिरहेको र पछिल्लो समय प्रधानमन्त्री तथा चिनियाँ राजदूतको नाम जोडेर आपत्तिजनक विषयहरु प्रसारण गरेपछि ती च्यानलहरु नेपालमा नदेखिने बनाइएको शर्माले बताए ।

सरकारले क्लिन फिड लागु गर्नुअघिनै इन्टरनेटबाट अनाधिकृत रुपमा आउने भिडियो कन्टेन्टहरु रोक्न एमएसओहरुले आग्रह गरिरहेका छन् । केबल अपरेटरहरुलाई सरकारले आग्रह गर्दा जुनसुकै बेला विदेशी च्यानलको प्रसारण रोक्न सक्छ ।

डिसहोम, मेगा म्याक्स, डिएसएन, मेरो टिभीलगायतका अपरेटहरुले सामूहिक रुपमा भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गर्ने निर्णय गरेका हुन् ।