अझै एक हप्तासम्म मनसुन सक्रिय रहने, बाढी-पहिरो तथा डुबानको जोखिम

अझै एक हप्तासम्म मनसुन सक्रिय रहने, बाढी-पहिरो तथा डुबानको जोखिम
शुक्रबार, असार २६, २०७७

काठमाडौँ- असार २६ गते शुक्रबारदेखि आउँदो शुक्रबारसम्म मनसुन अझै धेरै सक्रिय रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

‘एक साता बिहान घाम लागे जस्तो हुने र रातको समयमा मनसुन अत्यधिक सक्रिय रहनेछ’ जल तथा मौसम विज्ञान विभागका मौसमविज्ञ वरुण पौडेलले भने ।

पचास मिलिलिटरसम्म भएको वर्षा मध्यम भएकाले नेपालका केही स्थानबाहेक अधिकांश भागहरूमा मध्यम वर्षा भइरहेको उनले बताउनुभयो । ‘अब एक साता मनसुन अत्यधिक सक्रिय रहनेछ ।’

प्रदेश नम्बर २ का सबै जिल्लाहरूमा बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुन निक्कै सक्रिय भएकाले सावधानी अपनाउन उनले सबैमा अनुरोध गरे ।

‘पूर्व १ नम्बरका पहाडी जिल्लाहरूमा हिजोदेखि नै मनसुन सक्रिय थियो’ पौडेलले भने, ‘सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुली, दोलखामा सम्बद्ध पक्षले सक्रियता अपनाउन आवश्यक छ ।’

जताततै पहिरोको जोखिम, पानी पर्नासाथ रातभर जाग्राम

मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभागनजिक रहेकाले आगामी चार दिन मनसुनी गतिविधि बढ्ने सम्भावना रहेको मौसमविद् पौडेलले बताउनुभयो ।

प्रदेश नं १, २, बाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मनसुन मुख्य रुपमा नेपाल प्रवेश गरेकाले जुनसुकै बेला घनघोर वर्षा हुनसक्ने भएकाले सबैले सतर्कता अपनाउनुपर्ने मौसमविद् पौडेलको भनाइ छ ।

विभागका अनुसार मनसुनको समयमा एक सय मिलिलिटरभन्दा धेरै वर्षा भयो भने र अफ सिजनमा ५० मिलिमिटरसम्मको वर्षालाई भारी वर्षा भन्ने गरिन्छ ।

तर अहिलेसम्म हिजोको सिन्धुपाल्चोक र पोखरामा मात्रै एक सय मिलिलिटर वर्षा भएको र अरु ठाउँमा ५० मिलिलिटरसम्मको वर्षा भएकाले नेपालमा हल्का तथा मध्यम खालको वर्षा भएको जल तथा मौसमविद्हरूले बताएका छन् ।

विगतका वर्षहरूमा प्रि-मनसुनमा मात्रै वर्षा हुने तर यो वर्ष वैशाखदेखि नै मनसुन सक्रिय भएकाले नेपालकै धेरै स्थानहरूमा बाढी र पहिरोको जोखिम बढेको हो ।

यस्तो छ आगामी तीन दिनको मौसमको पूर्वानुमान

असार २६ गते (शुक्रबार)

दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहि थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

रातीः देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र प्रदेश ५, सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशको एक/दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

असार २७ गते (शनिबार)

दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र प्रदेश ५, सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशको एक/दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

रातीः देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र प्रदेश २का थोरै स्थानहरुमा साथै बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशको एक/दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

असार २८ गते (आइतबार)

दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र प्रदेश २का थोरै स्थानहरुमा साथै बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशको एक/दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

रातीः देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक/दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

देशका धेरैजसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना र सबै प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा (Heavy Rain) को सम्भावना रहेको हुँदा उक्त प्रदेशका नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।