बाढी पहिरोको प्रकोप : पोखरामा ४ जनाको मृत्यु

लमजुङमा एकै परिवारका तीन जनाको ज्यान गयो, म्याग्दीमा ७ बेपत्ता

बाढी पहिरोको प्रकोप : पोखरामा ४ जनाको मृत्यु
लमजुङ पहिरो : उद्धारमा खटिएको टोली
शुक्रबार, असार २६, २०७७

काठमाडौं- अविरल वर्षाका कारण गएको पहिरोमा परी पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।

गएराित पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टंकबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको छ ।

सो घटनामा परी घाइते भएका अन्य छ जनालाई उद्धार गरी मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

त्यसैगरी पोखरा महानगरपालिका–२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै पोखरा–१८ छोरेपाटन सिमलटुँडामा चन्द्रबहादुर मगरको घर माथिबाट खसेको पहिरोमा परी मगरसहित उनका श्रीमति शान्ति र छोरा सुशान मगर सामान्य घाइते भएका छन् । उनीहरुको नमस्ते अस्पतालमा उपचार भइरहेको छ ।

अविरल वर्षासँगै पोखराको रामघाटस्थित सेती नदी थुनिँदा सुकुम्वासी बस्ती डुबानमा परेको छ । स्थानीयवासीलाई राति नै सुरक्षित स्थानमा सारिएको छ ।

लमजुङमा तीन जनाको मृत्यु

यसैबीच लमजुङको बेसीसहर नगरपालिका–७, सातबिसेमा पहिरोले घर पुरिंदा एकै परिवारका तीन जनाको ज्यान गएको छ ।

दीपक तामाङको घर पुरिंदा एकै घरका तीन जनाको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा दीपक तामाङ, उनकी श्रीमती बिमाया तामाङ र छोरा सेवाङ तामाङ रहेका लमजुङका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिए ।

प्रहरीका अनुसार अरु तीन जना सामान्य घाइते भएका छन् ।

म्याग्दीमा ७ बेपत्ता

लगातारको वर्षासँगै पहिरो जाँदा म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको रिखामा आज बिहान सात जना बेपत्ता भएका छन् ।

घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई परिवारका सात जना बेपत्ता भएका मराङका वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिए ।

उनका अनुसार भीमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर पहिरोले बगाएको छ । भीमप्रसादको घरमा चार र धनबहादुरको घरमा तीन जना थिए ।

भिरालो पाखोमा रहेको घण्टीवाङ गाउँ पहिरोले घेरिएको स्थानीयवासीसमेत रहेका वडासदस्य लोकबहादुर पुनले बताए । माथिल्लो भागमा रहेको घण्टीवाङका १३ परिवार पहिरोले विस्थापित भएका उनले बताए ।

घण्टीवाङ मुनीको रिखामा छ घरको बसोबास थियो । चार घर विस्थापित भएका छन् ।

यसैगरी मराङकै कल्लेनीको धारखोलामा आएको बाढीले दुई वटा घरमा क्षति पुर्‍याएको छ ।

यसैबीच रघुगङ्गा नदीमा आएको बाढीले म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको राहुघाटस्थित बेलिब्रिजसमेत बगाएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए ।

बेलिब्रिजको छेउमा पक्की पुल निर्माणको क्रममा छ । पहिरो प्रभावित मराङको रिखा र कल्लेनीमा ताकम, दरवाङ र बेनीबाट प्रहरी टोली पठाइएको प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले बताए ।