हामी १४ वर्षमा

हामी १४ वर्षमा
शनिबार, असार २७, २०७७

निर्मल गुरुङ

नेपालको पहिलो समाचार च्यानल सगरमाथा टेलिभिजन १३ वर्षे यात्रा पूरा गरी १४ औं वर्षमा प्रबेश गरेको छ ।

निरन्तरको यात्राले हामीलाई प्रगतिपथमा लम्काइरहेको जानकारी आम दर्शकहरुलाई गराउन पाउँदा म गौरवान्वित भएको छु ।

हाम्रो अनवरत यात्राको सफलता तपाईहरुकै शुभेच्छा, माया, सद्भाव, रचनात्मक सहयोग र खबरदारीले नै सार्थक भएको हो । विगतमा झैँ आगामी यात्रामा पनि तपाईहरुको साथ सहयोगले थप उर्जा मिल्ने अपेक्षा लिएका छौं ।

जनआन्दोलन २०६२/६३ को सफलतापछि मुलुकमा आएको आमूल परिवर्तनमा हाम्रो भूमिका दर्शकवृन्दलाई जानकारी गराइरहनुपर्ने विषय होइन । राजनीतिक स्थायीत्वसँगै समृद्ध नेपालको राष्ट्रिय आकांक्षा हाम्रो पनि कार्यभार हो । हामी व्यावसायिक पत्रकारिताको माध्यमबाटै रचनात्मक योगदान पुर्‍याउनमा कुनै कसर बाँकी राख्ने छैनौं ।

आवाजविहीनहरुको आवाज बन्ने हाम्रो संकल्प र आम जनताको आधारभूत आवश्यकता परिपूर्तिका लागि दबाबमूलक भूमिका निर्वाह गर्ने हाम्रो दायित्वलाई अझ सशक्त ढंगबाट पूरा गर्ने अठोट लिएका छौं ।

सत्य, निर्भिक, स्वतन्त्र एवं व्यावसायिक पत्रकारितामार्फत हामी निरन्तर पहरेदारको भूमिका निर्वाह गर्ने दायित्वबाट कदापि बिचलित हुने छैनौं ।

विभिन्न आरोह–अवरोहको अबिचलित यात्रा पार गर्दै हामी १४ औं वर्ष प्रबेश गरेको यस अबसरमा म पत्रकारिताको मूलभूत मूल्य–मान्यताप्रति हाम्रो अविचलित यात्रा कायमै रहने प्रतिबद्धता व्यक्त गर्दछु ।

आम दर्शकहरुको आवश्यकता र चाहना नै हाम्रो प्राथमिकता र अर्जुनदृष्टि हो । नेपालमा सञ्चार जगतमा आएको तीव्र प्रतिस्पर्धात्मक अवस्थालाई हामीले अवसरका रुपमा लिएका छौं ।

विज्ञान र प्रविधिको दु्रत विकासले नयाँ अवसर र सञ्चार क्षेत्रमा व्यापक बदलाव ल्याइरहेको यर्थाथबाट हामी अनविज्ञ छैनौं । नयाँ सञ्चार आयामको विकाससंगै दर्शक र पाठकको रुचीमा आइरहेको विविधीकरणलाई ध्यान दिंदै हाम्रो संरचामाध्यम परिमार्जित र विस्तारीत हुँदै जानेमा म तपाईहरुलाई विश्वास दिलाउन चाहन्छु ।

हामी नयाँ प्रविधिको विस्तार र नयाँ माध्यम पनि थप गरिँदै जाने प्रतिवद्धता व्यक्त गर्दछु ।

Image may contain: text

तपाईंको तेस्रो आँखा

आमसञ्चार माध्यम समाजको आँखा हो । आम सञ्चार माध्यमले सत्य, तथ्य सूचना तथा सन्दर्भ सामाग्री संप्रेषण गर्न सक्नुपर्छ ।

राज्यले त्यस्तो सन्तुलित र निष्पक्ष सूचना प्राप्त गर्ने नागरिकको अधिकार कुण्ठित गर्न खोजेमा त्यहीबाट त्यस्तो सरकारको विघटन शुरु हुन्छ ।

यस्तै परिस्थितिमा सगरमाथा टेलिभिजनको औपचारिक प्रसारण यात्रा सुरु भएको हो । जतिवेला मुलुक भर्खरै सकिएको २०६३ सालको ऐतिहासिक जनआन्दोलनबाट प्राप्त उपलव्धी संस्थागत गर्ने दोबाटोमा उभिएको थियो ।

माघ १९ को शाही कु मार्फत जनताको वाक स्वतन्त्रता माथि पटक–पटक धावा बोल्ने राजसंस्था औपचारीक बिघटनको संघारमा थियो ।

२०६४ साल असार २७ गते बुधवार । समाचारको शिखर–नेपालको गौरव भन्ने नारासहित स्थापित नेपालको पहिलो समाचारमुलक च्यानल सगरमाथा टेलिभिजनले नेपाली टेलिभिजन प्रसारणको इतिहासमा एउटा नयाँ अध्याय थपेको दिन हो ।

जुन दिनदेखि हामीलाई नेपाली समाजको तेस्रो आँखां बन्ने प्रतिबद्धताले आजसम्म निरन्तर डोर्‍याई रहेको छ । प्रसारण यात्राको १३ बर्षे यो अनुभवले हामीलाई समाजको आँखा बन्न अभिप्रेरित गरेको छ ।

जुन प्रतिबद्धता र अठोटबाट हामी कत्ति पनि बिचलित भएका छैनौं ।

२०६४ सालसम्म नेपालमा समाचार मात्रै बजाएर टेलिभिजन च्यानल चलाउन सकिन्छ भन्ने अहम् प्रश्न उठ्ने गथ्र्यो । तर त्यसलाई हामीले जस्तोसुकै चुनौती र जोखिम मोलेर पनि यो अवधीमा सम्भव बनाएका छौं ।

समाचारमुलक सन्दर्भ सामग्री आमदर्शक तथा विज्ञापनदाताको पहिलो रोजाईमा छ भन्ने सत्य स्थापित गरेका छौं । हामीले जनताका मुद्दालाई नै प्रमुख बनाउने अभियानमा हामी सफल भएका छौं ।

सार्वजनिक प्रशारण संस्थाका रुपमा हामीले प्रसारण यात्रा सँगसँगै भाषण शैलीका समाचार र सानातिना गोष्ठी, सभाका समाचारलाई महत्व दिने नीति निरन्तर निरुत्साहित गर्‍यौं ।

यो, समाचारको गुणस्तर विकासका लागि पहिलो अनिवार्य सर्त मानिने हाम्रो सम्पादकीय स्वतन्त्रताको परिणाम हो ।

आमसञ्चार माध्यम जनताप्रति उत्तरदायी हुनैपर्छ । सामाजिक उत्तरदायित्वबाट पन्छिन मिल्दैन । यसैलाई मूल मन्त्र बनाएर सगरमाथा टेलिभिजनले आम दर्शकलाई सार्वभौम जनताका रूपमा आत्मसात् गर्दै आएको छ ।

जनताको आवाज निष्पक्षरूपमा प्रसारण गर्दै हामीले विगत १३ बर्षयता आवाजबिहीनहरूको आवाज बोल्ने सुनिश्चितता बोकेका छौं ।

जनताप्रति उत्तरदायी सार्वजनिक टेलिभिजनको सान्दर्भिकता पुष्टि गर्न हामी राजनीतिक आस्था भन्दा माथि छौं ।

नेपालमा लोकतन्त्र आएपछि दु्रतगतिमा आमसञ्चार माध्यमको विकास भयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको तथ्यांक अनुसार, नेपालमा अहिले कुल एक सय भन्दा बढी टेलिभिजन दर्ता भएका छन् ।

तीमध्ये करिब १ चौथाईं च्यानल विभिन्न माध्यमबाट सञ्चालनमा छन् । मुलुकको सामाजिक, आर्थिक, राजनीतिक र शैक्षिक लगायतका सूचक अनुसार संख्यात्मक रुपमा प्रसारण संस्था बढेपनि भू–उपग्रह मार्फत आफ्नो प्रसारण पहुँचलाई बढावा दिनेको संख्या निकै थोरै छ ।

त्यसमा पनि सगरमाथा टेलिभिजन त्यही सूचीमा रहेको मुलुकको पहिलो समाचार च्यानल हो । प्रजातन्त्र पुनः स्थापना पछि सरकारले अँगालेको खुला प्रसारण नीतिकै परिणाम, अहिले पनि नेपालमा टेलिभिजनको विकासमा संख्यात्मक वृद्धि भईरहेको छ ।

यसले हाम्रो यात्रालाई अरु जिम्मेवार र प्रतिष्पर्धी बनाएको छ । यो अवस्थामा प्रविधिको विकास क्रमलाई हेरेर जनतालाई फरक स्वाद दिन प्रसारण पहुँच र गुणस्तरमा वृद्धिका निम्ति, पत्रकारिताको सिद्धान्त, दर्शक तथा शुभेच्छुकको सद्भाव, विज्ञापनदाताको प्रतिबद्ध सहयोग र प्रजातान्त्रीक खुला समाजको मर्मको सम्मान गर्न सगरमाथा टेलिभिजन परिवार सदैब दृढ संकल्पित छ ।

यो यात्रामा हामीले टेलिभिजनको असीमित प्रभावलाई नजिकबाट अनुभव गरेका छौं । दर्शकलाई आकर्षित गर्नका लागि सामान्य विषयलाई अतिरञ्जित गर्ने, छिटो सूचना दिने नाममा अपरिपक्व सूचना प्रवाह गर्ने होडमा हामी कहिल्यै उत्रिएका छैनौं ।

नेपालमा २०४१ सालमा भीएचएस प्रविधिबाट उत्पादन सुरु भएको टेलिभिजन प्रसारण यात्रा अहिले यू–म्याटिक, बेटा–क्याम एस.पी, बेटाक्याम एस.एक्स, डिभी–क्याम र डिजिटल प्रविधि हुँदै अहिले एसडी प्रविधिबाट एचडी प्रविधिमा रूपान्तरण भईरहेका छन् ।

मुलुक संघीय संरचनामा गएपछि तल्लो तहसम्मका गतिविधिलाई राष्ट्रिय प्रसारणमा जोड्न, प्रदेश प्रदेशमा व्यूरो तथा साधनश्रोत सम्पन्न जनशक्ति व्यवस्थापन भईरहेको छ ।

प्रसारण यात्राको आजसम्मको अनुभवमा उभिएर हामी पनि यो घडीमा प्राविधिक गुणस्तरमा ठूलो फड्को मार्ने जमर्को गरिरहेका छौं ।

पूर्णतः एचडी उपकरण र त्यहाँबाट उच्च गुणस्तरका कार्यक्रम र समाचारको प्रस्तुती अवको हाम्रो लक्ष्य हो । साथै हाम्रो सञ्चार माध्यमलाई समय सापेक्ष र आम दर्शकको रोजाइ अनुसार युट्युव च्यानल अनलाइन sagarmatha.tv सञ्चालन गरिरहेका छौं ।

जसबाट प्रविधिको रूपान्तरणसँगै नेपाली जनताको चाहना र आवश्यकता अनुरूपका विविधतापूर्ण नेपाली समाजका विविध संस्कृतिको संवद्र्धन र प्रवद्र्धन गर्ने कार्यक्रम सिर्जनात्मक रुपमा हामी निरन्तर पस्किरहने प्रण गर्दछौं ।

नेपालीको सभ्यता, संस्कृति, पुरातत्व, कला, भाषा–साहित्य, लोकसंगीत, पूर्वाधार, प्राकृतिक स्रोत, पर्यटनलगायतका विषयमा निरन्तर राष्ट्रिय भावधारामा पस्किने छौं । कमी कमजोरीलाई सच्याएर वास्तविक राष्ट्रिय प्रसारकका रूपमा स्थापित हुनेछौं ।

अन्त्यमा, सगरमाथा टेलिभिजन १४ औं वर्ष प्रवेशको उपलक्ष्यमा हामीलाई प्रत्यक्ष, अप्रत्यक्ष या परोक्ष सहयोग गर्नुहुने देश विदेशमा रहनुभएका हाम्रा तमाम दर्शक, पत्रकार/कर्मचारी, शुभेच्छुक, विज्ञापनदाता, विज्ञापन एजेन्सी, केबल अपरेटरप्रति सगरमाथा टेलिभिजन परिवारका तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।
धन्यवाद ।