बाढीले डाइर्भसन बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

बाढीले डाइर्भसन बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध
शनिबार, असार २७, २०७७

नवलपरासी । नवलपरासीको गैँडाकोट नगरपालिका–९ थुम्सीस्थित खहरे खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

लगातारको वर्षाले पूर्वपश्चिम राजमार्गअन्तर्गत सो खहरेको डाइभर्सनमा राखिएको कल्र्भट बगाएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए ।

बिहान ४ बजेबाट सडक अवरुद्ध भएको उनले बताए । अहिले गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् ।

नारायणगढ–बुटवल सडकखण्ड निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले सडक विस्तारका क्रममा डाइभर्सन निर्माण गरेको थियो ।

सोही कम्पनीले नयाँ डाइभर्सन बनाउने तयारी गरिरहेको छ । गैँडाकोटदेखि दाउन्नेसम्मको ६४.४ किलोमिटर सडकखण्ड विस्तारको काम भइरहेको छ ।