कोरोनाको संक्रमणबाट सिन्धुपाल्चोकमा थप एक जनाको मृत्यु

कोरोनाको संक्रमणबाट सिन्धुपाल्चोकमा थप एक जनाको मृत्यु
शनिबार, असार २७, २०७७

काठमाडौं । कोरोना भाइरसका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ ।

पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित  सिन्धुपाल्चोक पाँचपोखरी थाङपालधाप गाउँपालिकाका पुरुषको मृत्यु भएको हो ।

मिर्गौलासम्बन्धी रोगको उपचार गराइरहेका उनको शुक्रबार पाटन अस्पतालमा मृत्यु भएको पाटन स्वास्थ्‍य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ ।

उनमा कोरोनाको लक्षण देखिएपछि स्वास्थ्य परीक्षण गराउँदा कोरोना पोजेटिभ देखाएको थियो । उनको पाटन अस्पतालकै आइसोलेसनमा उपचार भइरहेको थियो ।

यसअघि सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका ९ राम्चेको २९ वर्षे सुत्केरीको कोरोनाकै कारण मृत्यु भएको थियो ।

योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ । तर स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयले भने सिन्धुपाल्चोकका पुरुषको मृत्यु कोरोनाबाट भएको आधिकारिक पुष्टि गर्न बाँकी छ ।