कविता- घाँसी

कविता- घाँसी
सोमवार, असार २९, २०७७

रामायण- बाल काण्ड (केही श्लोक)

एक् दिन् नारद सत्यलोक् पुगि गया लोक्को गरूँ हित् भनी।
ब्रह्मा ताहिं थिया पर्या चरणमा खूसी गराया पनी॥

क्या सोध्छौ तिमि सोध भन्छु म भनी मर्जी भयेथ्यो जसै।
ब्रह्माको करुणा बुझेर ऋषिले बिन्ती गर्या यो तसै॥१॥

हे ब्रह्मा जति हुन् शुभाशुभ सबै सूनी रह्याँछू कछू।
बाँकी छैन तथापि सुन्न अहिले इच्छा म यो गर्दछू॥

आऊला जब यो कली बखतमा प्राणी दुराचार् भई।
गन्र्या छन् सब पाप् अनेक् तरहका निच्का मतीमा गई॥२॥

साँचो बात गरैन कोहि अरुकै गर्नन् त निन्दा पनी।
अर्काको धन खानलाइ अभिलाष् गर्नन् असल् हो भनी॥

कोही जन् त परस्त्रिमा रत हुनन् कोही त हिंसा महाँ।
देहैलाइ त आत्म जानि रहनन् नास्तिक् पशू झैं तहाँ॥३॥

काम्का चाकर झैं भयेर रहनन् स्त्रीलाइ द्यौता सरी।
मान्नन् पितृ र मातृलाई बुझि खुप् शत्रू सरीका गरी॥

ब्राह्मण् भै कन वेद बेचि रहनन् कोही पढुन् ता पनी।
धन् ठूलो छ पनी भन्या सहज धन् आर्जन् गरौंला भनी॥४॥

जाती धर्म रह्वैन क्षत्रिहरुमा जो छन् इ नीचाहरू।
शूद्रादी त तपस्वि होइ रहनन् ब्राह्मण् सरीका बरू॥

स्त्री धेर् भ्रष्ट हुनन् पती र ससुराको द्रोह ठूलो गरी।
यस्ता नष्ट कसोरि मुक्त त हुनन् संसारसागर् तरी॥५॥

यो चिन्ता मनमा भयो र अहिले सोधूँ उपायै भनी।
आयाको छु दयानिधान कसरी तर्नन् सहज् ई पनी॥

यस्तालाइ उपाय तर्न सजिलो कुन् हो उ आज्ञा गरी।
मेरो चित्त बुझाइ बक्सनुहवस् क्याले इ जान्छन् तरी॥६॥

नारद्ले दुनियाँउपर् गरि दया बिन्ती गर्या यो जसै।
ब्रह्माजी पनि खूप् प्रसन्न हुनुभो मर्जी भयो यो तसै॥

हे नारद् सब पाप हर्न कन ता रामायणैले सरी।
आर्को मुख्य उपाय छैन सबको हित् यै छ अमृत् सरी॥७॥

शम्भू देखि सुनेर तत्त्व सब यो गान् पार्वती गर्दछिन्।
राम्को नाम अपार जानि बहुतै आनन्दमा पर्दछिन्॥

जस्ले गान् कन गर्दछन् त ति सहज् संसार पार् तर्दछन्।
कालैको पनि ताप् हुँदैन भय सब् तिन्का सहज् टर्दछन्॥८॥

यो सब् शास्त्रविषे बडो छ रघुनाथ्को रुप् जनाई दिन्या।
जो छन् सब् इ पुराण्हरू इ सबमा यै मुख्य जानी लिन्या॥

गर्छन् कीर्तन सुन्दछन् पनि भन्या यो पाउँछन् फल् भनी।
तिन्को पुण्य बखान गर्न त सबै सक्तीन मैले पनी॥९॥

सून्याथ्याँ शिव देखि यस्कि महिमा एक् श्लोक पढुन् ता पनी।
भक्तीले यदि यो पढ्यो पनि भन्या पाप् छुट्तछन् सब् भनी॥

जो एक् चित्त गरेर पाठ खुसि भै गर्छन् सदा यै भन्या।
जीवन्मुक्त तिनै त हुन् नर भई ईश्वर् सरीका बन्या॥१०॥

पूजा पुस्तकको गर्या पनि त फल् एक् अश्वमेध्का सरी।
पाऊँछन् सुनियो कहीं पनि भन्या पाप् छुट्तछन् तेस् घरी॥

जो ता पुस्तकका नजिक् गइ नमस्कारै फगत् गर्दछन्।
तेस्ता जन् सब देवता पुजि हुन्या फल् भोगमा पर्दछन्॥११॥

चारै वेद पढेर शास्त्रहरुको व्याख्यान गर्दा पनी।
पाईदैन उ फल् त पाउँछ सहज् पुस्तक् दिनाले पनी॥

भक्तीले कहिं भक्तका घर गई एकादशीमा कह्या।
चौबिस् पल्ट पुरश्चरण् गरि हुन्या गायत्रिका फल् भया॥१२॥

जस्ले राम्नवमी उपासि खुसिले जाग्रन् समेतै गरी।
यो रामायण पाठ् गरोस् कि त सुनोस् तन् मन् यसैमा धरी॥

तेस्ले तीर्थ पिछे तुलापुरुषदान् सूर्य्यै ग्रहण्मा गर्यो।
यस्मा संशय छैन जान्नु सबले आनन्दमा त्यो पर्यो॥१३॥

रामायण् कन गाउन्या पुरुषको आज्ञा त इन्द्रै पनी॥
मान्छन् श्रीरघुनाथका प्रिय इ हुन् मान्न्या इनै हुन् भनी॥

रोज् रोज् यस् कन पाठ् गरेर जनले सत्कर्म गर्छन् जती।
कोटी गुण् फल बढ्ति मिल्छ सबको घट्तैन तिन्का रती॥१४॥

यस्मा राम् हृदयै छ पाप् हरि लिन्या क्वै ब्रह्मघाती पनी।
शुद्धात्मा बनि जान्छ तिन् दिन पढ्या गर्छन् कृपा राम् धनी॥

रोज् रोज् तीन पटक् अगाडि हनुमान् राखेर पाठ् गर्छ जो।
जस्तो भोग् कन गर्न खोज्दछ उ भोग् सम्पूर्ण पाऊँछ सो॥१५॥

जो यो पाठ् तुलसी पिपल् वरि परी गर्छन् प्रदक्षिण् गरी।
तिन्का पाप् सब जन्मका जति त छन् छुट्छन् ति तेसै घरी॥

तेस्मा रामगिता छ झन् अति ठुलो जस्को महात्म्यै पनी।
सब् जान्न्या शिव मात्र छन् अरु त को जान्न्या छ यस्तो भनी॥१६॥

आधा पार्वति जान्दछिन् म त सबै चौथाइ पो जान्दछू।
गीता पाठ गरेर नाश नहुन्या पाप् छैन यो मान्दछू॥

राम्ले वेद मथन् गरीकन झिक्या गीता र अमृत् सरी।
लक्ष्मण्लाइ दिया यही पढि लिया जाइन्छ संसार् तरी॥१७॥

मार्छू निश्चय कार्तवीर्य भनि खुप् ठूलो इरादा गरी।
पढ्थ्या श्रीशिव थ्यैं गया परशुराम् दिन् दिन् चरण्मा परी॥

पढ्थिन् पार्वति राम्गीता तहिं सुनी पाठ् गर्न लागी गया।
राम्गीता तहिं देखि पाठ् गरि लिया नारायणै ती भया॥१८॥

मैह्ना दिन् यहि राम्गिता पढि लिया सब् ब्रह्महत्याहरू।
छुट्छन् ता अरु छुट्तछन् सकल पाप् भन्न्या बखान् क्या गरू॥

शालग्राम् तुलसी पिपल् कि त बडा संन्यासी थ्यैं जो गई।
राम्गीता कन पाठ् गर्यो पनि भन्या ठूलो महात्मा भई॥१९॥

जुन् फल् छन् मुखले भनी नसकिन्या सो फल् ति भोग् गर्दछन्।
कोही श्राद्ध विषे पढुन् त तिनका पितृ़ सबै तर्दछन्॥

पैल्हे खूप नियम् गरी दशमिमा एकादशीमा पनी।
आसन् बाँधि अगस्ति वृक्ष मनि पाठ् गर्छू म गीता भनी॥२०॥

कविता- घाँसी

भर् जन्म घाँस तिर मन् दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो ।

घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन किन यस्तो ।

मेरा ईनार न त सत्तल पाटिकै छन्
जे धन चीजहरु छन् घर भित्रनै छन् ।

त्यस घाँसीले कसरी आज दिए छ अर्ति
धिक्कार हो म कन बस्नु न राखि किर्ति ।