तनहुँ पहिरो अपडेट : मृत्यु हुनेको संख्या ६ पुग्यो

तनहुँ पहिरो अपडेट : मृत्यु हुनेको संख्या ६ पुग्यो
सोमवार, असार २९, २०७७

तनहुँ-गएरातीदेखिको अविरल वर्षासँगै आएको पहिरामा पुरिएर तनहुँमा ६ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन । पहिराले घर पुरिंदा व्यास नगरपालिका–९ माँझफाँटमा चार जना, ऋषिङ गाउँपालिका–८ पल्ट्याङ स्थित भैसीलिकेमा एक जना र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

पहिराले घर पुरिंदा व्यास नगरपालिका–९ माँझफाँटका ४० वर्षीया कमला थापा, उनका छोरा २४ वर्षीय मनोज र छोरी २१ वर्षीया अञ्जनाको निधन भएको प्रहरी उपरीक्षक अरुण पौडेलले बताए । कमलाका २० वर्षीय छोरा राजेश भने बेपत्ता छन् । कमलाका पति केशरबहादुरलाई भने उद्धार गरी उपचारका लागि पोखरा पठाइएको छ ।

सोही ठाउँकै ७० वर्षीया मैतकुमारी घर्तीको पनि पहिराले पुरिएर मृत्यु भएको छ । त्यस्तै पहिराले पुरिएर म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडा बस्ने १७ वर्षीया लक्ष्मी विकको मृत्यु भएको छ । त्यस्तै ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा पहिराले पुरिएर बेपत्ता भएकामध्ये एक जनाको शव फेला परेको छ भने बाँकी चार जना बेपत्ता छन् ।

बेपत्ताको खोजी कार्य भइरहेको ऋषिङ गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए । स्थानीय अनबहादुर थापाको घर पहिराले पुरिंदा जेठो छोरा ३० वर्षीय भेषबहादुर थापा, निजकी श्रीमती २९ वर्षीया नानुमाया, छोरी ५ वर्षीया अमिषा थापा, अनबहादुरका कान्छा छोरा २२ वर्षीय महादेव थापा र निजकी श्रीमती १९ वर्षीया मनिसरा थापा बेपत्ता छन् ।

सोही ठाउँकै ६० वर्षीय ज्योतिमाया थापाको भने उद्धारपछि उपचारका लागि पोखरा पठाइएको छ । पहिरोमा बेपत्ता भएकाको खोजीकार्य, घाइतेको उद्धार तथा अन्य क्षति विवरण संकलनमा सरोकारवाला निकाय तथा स्थानीयसँग समन्वय गरी काम भइरहेको जिल्ला प्रहरी कार्यालयले तनहुँले जनाएको छ ।

त्यस्तै, जिल्लाका साना ठुला नदी तथा खोला खोल्सीमा आएको बाढीले वरपर रहेका बस्ती र खेत ढुवानमा पर्नुका साथै कटान गरेको छ । बाढी पहिरोका कारण ठाउँठाउँमा बत्तिका पोलहरु ढल्दा आज विहानैदेखि विद्युत अवरुद्ध भएको छ । पहिरोका कारण अवरुद्ध भएको पृथ्वीराजमार्ग भने केही समयअघिदेखि खुलेको छ । भित्री तथा ग्रामीण सडकहरु पनि पहिरोका कारण पूर्ण रुमपा अवरुद्ध छन् ।