छाङरु र तिंकर गाउँमा चामल ढुवानी : चामलको मूल्यमन्दा धेरै गुणा बढी भाडा

प्रतिकिलो २ सय ४९ रुपैयाँ ढुवानी भाडा

छाङरु र तिंकर गाउँमा चामल ढुवानी : चामलको मूल्यमन्दा धेरै गुणा बढी भाडा
सोमवार, असार २९, २०७७

रमेश खत्री

दार्चुला-गत शनिबारबाट छाङरु र तिंकर गाउँका लागि चामल ढुवानी सुरु भएको छ । दार्चुला जिल्लाको व्याँस गाउँपालिका वडानम्बर–१ का छाङरु र तिंकर गाउँका लागि दुईसय क्वीन्टल चामल ढुवानी सुरु भएको हो ।

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुर्खेतबाट खलंगासम्म सडकमार्ग र खलंगाबाट व्याससम्म हेलिकोप्टर मार्फत चामल ढुवानी गराउन लागेको हो ।

निजी वायुसेवा कम्पनी माउन्टेन हेलिकोप्टरले चामल ढुवानीको जिम्मेवारी पाएको छ । छाङरु र तिंकर गाउँमा एक/एक सय क्वीन्टल चामल ढुवानी भईरहेको निजी वायुसेवा कम्पनी माउन्टेन हेलिकोप्टरका मार्केटिङ प्रमुख सञ्जीव भण्डारीले जानकारी दिए ।

खलंगाबाट व्याससम्म जोड्ने पैदल बाटो सञ्चालनमा नभएकाले हेलिकोप्टरमार्फत ढुवानी गरिदैछ । हेलिकोप्टरबाट एकपटकमा ५ देखि साढे ५ क्वीन्टल चामल ढुवानी गर्छ । सुरुमा खलंगाबाट व्यासको छाङ्रु गाउँमा सबै चामल ढुवानी गरिनेछ ।

छाङ्रुबाट तिंकर गाउँका लागि १ सय क्वीन्टल चामल हेलिकोप्टरमार्फत ढुवानी गरिने व्यास गाउँपालिका अध्यक्ष दिलिपसिह बुढाथोकीले जानकारी दिनुभयो ।

छाङरु गाउँको छेउमै रहेको स्वास्थ्य चौकी नजिकै हेलिकोप्टर ल्याण्ड गरिने वडाअध्यक्ष अशोक सिंह बोहराले बताए । माउन्टेन हेलिकोप्टरले सुर्खेतबाट खलंगा हुँदै व्यासक्षेत्रसम्म चामल ढुवानीको ठेक्का पाएको छ ।

प्रतिकिलो २ सय ४९ रुपैयाँमा ढुवानी सम्झौता भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ । हेलिकोप्टरमार्फत २ सय क्वीन्टल चामल ढुवानी गर्न झण्डै ५० लाख रुपैयाँ खर्च हुँदैछ ।