बनेको एक वर्ष नपुग्दै भासियो नारायणगढ–मुग्लिन सडक

बनेको एक वर्ष नपुग्दै भासियो नारायणगढ–मुग्लिन सडक
सोमवार, असार २९, २०७७

चितवन – नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा बनेको एक बर्ष नुपग्दै सडक भासिएको छ । सडक भासिएसँगै सोमबार विहान देखि नै सवारी साधन एकतर्फी सञ्चालन गरिएको छ ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार, यसअघि भासिएको ठाउँमा थप भासिएपछि समस्या भएको हो । सो सकडखण्डको १७ र २६ किलो भन्ने स्थानमा सडक बिस्तार गरेको एक वर्ष नपुग्दै भासिएका थियो ।

उनले १७ किलोमा तीनदेखि ३ दशमलब ५ मिटर फराकिलो ३५ मिटर लामो क्षेत्रमा एक फिटजति सडक भासिएको बताए । सो ठाउँमा सडक नौ मिटर फराकिलो छ । सडक ग्राबेलिङ गरेपछि दुईतर्फी सवारी सञ्चालन गर्न सकिने उनले जानकारी दिए ।

सो ठाउँमा विसं २०६० मा सडकमुनिबाट एङ्कर वाल दिएर निर्माण गरिएको थियो । यसैमा समस्या आएको जनाइएको छ । सो क्षेत्रमा तलबाट त्रिशूली नदीले काटेका कारण एङ्कर वालले काम गर्न छाडेको हो । दुई वर्षअघि सो सडक विस्तारको काम गरिएको हो ।

सडक निर्माण गरिएको एक वर्ष नपुग्दै सो ठाउँ र २६ किलोमा ६ दशमलव ५ मिटर फराकिलो सडक ७० मिटर लामो भाग भासिएको छ । ती दुवै ठाउँमा मर्मतका लागि बोलपत्र आह्वान गरिएको भए पनि बोलपत्र नपरेको सडक विभागले जनाएको छ ।