६ वटा निजी प्रयोगशालाले पाए कोरोना भाइरस परीक्षणको अनुमति

६ वटा निजी प्रयोगशालाले पाए कोरोना भाइरस परीक्षणको अनुमति
सोमवार, असार २९, २०७७

काठमाडौं – सरकारले ६ वटा निजी प्रयोगशालालाई कोभिड– १९ को पिसिआर परीक्षणको अनुमति दिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मापदण्ड पुगेका छ निजी प्रयोगशालालाई पिसिआर परीक्षण गर्न अनुमति दिएको प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले जानकारी दिए ।

उनका अनुसार स्टार अस्पताल काठमाडौं, काठमाडौँ मेडिकल कलेज काठमाडौँ, सेन्ट्रल डाइग्नोस्टिक ल्याब्रोटोरी काठमाडौँ र सूर्या हेल्थ केयर सेन्टर रहेका छन् । यस्तै उपत्यकाका बाहिर नेशनल प्याथल्याब बुटवल र वागेश्वरी प्रयोगशाला कोहलपुर बाँकेले अनुमति पाएका छन् ।

प्रयोगशालाले पिसिआरको परीक्षणको दायरा बढाउनका लागि गत जेठ २२ गते इच्छुक निजी प्रयोगशालालाई प्रस्ताव आह्वान गरेको थियो । उक्त प्रस्तावमा १९ वटा प्रयोगशालाले आफूले पिसिआरको परीक्षण गर्न प्रस्ताव दर्ता गराएका थिए ।

ती १९ मध्ये नौ वटा प्रयोगशालाको भने आफ्नै पीसीआर परीक्षण गर्ने मेसिन रहेको थियो । ती ६ प्रयोगशालाले आफैँ नमूना सङ्कलन गर्ने नभई मन्त्रालयले उपलब्ध गराएको नमूना परीक्षण गर्नेछन् । यसरी परीक्षण गरेबापत ती प्रयोशालाले एक वटा नमूना परीक्षणको रु पाँच हजार ५०० शुल्क लिन पाउनेछन् ।