रुकुम पश्चिमको पिथिवाङ खोलामा पुल नहुँदा स्थानीयलाई वर्षेनी सास्ती

रुकुम पश्चिमको पिथिवाङ खोलामा पुल नहुँदा स्थानीयलाई वर्षेनी सास्ती
सोमवार, असार २९, २०७७

मेगराज खड्का

रुकुम-राप्ती लोकमार्ग अन्र्तगत रुकुम पश्चिमको मुसिकोटस्थित पिथिवाङ खोलामा पक्की पुल नहुँदा आवतजावतमा समस्या भएको छ । नगरपालिकाका वडानम्बर–११ र १२ को सीमानामा रहेको पिथिबाङ खोलामा हरेक वर्ष असार देखि भदौसम्म खोला बढ्ने हुँदा यस क्षेत्रका स्थानीयलाई समस्या हुने गरेको छ ।

रुकुम भित्रिने तथा बाहिरिने मुख्य सडकखण्डमै पक्की पुल निर्माणको काममा ढिलाई हुँदा साना तथा ठूला सवारीसाधन लगायत सर्वसाधारणले आवतजावतमा समस्या भोग्नुपरेको छ ।

यस वर्ष चाडै वर्ष भएकाले चाडै नै पिथिबाङ्ग खोला बढेपछि स्थानीय युवाहरुले केहि दिनदेखि साना सवारी र यात्रुलाई बोकेरै उद्धार गुरिरहेका छन् । यसो गरेवापत ति यूवाले दुई देखी तीन सय रुपैंया लिनेगरेका छन् ।

सडक डिभिजन कार्यालय चौरजहारीले भने पिथिबाङ्ग खोलामा ५ करोड २८ लाख लागतमा आगामी वर्षदेखि सञ्चालनमा आउने गरी ३५ मिटर लामो आरसीसी मोटरेबल पुल निर्माणको काम शुरु गरिएको भन्दै तत्कालिन समस्या समाधानको अर्को उपाय नभएको बताउँदै आएको छ ।