सीमा नजिक बनेका बाँध, तटबन्ध तत्काल हटाउने पहल गर्न निर्देशन

सीमा नजिक बनेका बाँध, तटबन्ध तत्काल हटाउने पहल गर्न निर्देशन
सोमवार, असार २९, २०७७

काठमाडौं-संसदीय समितिले सीमा नजिक बनेका सडक, बाँध, तटबन्ध लगायतका भौतिक संरचनाहरु तत्काल हटाउन सरकारलाई निर्देशन दिएको छ ।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले अन्तर्राष्ट्रिय मापदण्ड विपरित सीमा नजिकैका क्षेत्रहरुमा निर्माण भएका सडक, बाँध, तटबन्ध लगायतका भौतिक संरचनाहरुलाई तत्काल हटाउन पहल गर्न नेपाल सकरार गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

सीमा नजिक बनेका संरचनाहरुले नेपाल तर्फ डुवान परेकोले त्यस्ता संरचनाहरुलाई तत्काल हटाउनुपर्ने समिति सभापति शशी श्रेष्ठले बताईन । समितिले भु–बनोटको जाँच गरी उच्च जोखिममा रहेका बस्तीहरुलाई अन्यत्र सुरक्षित ठाउँमा स्थानान्तरण गर्न समेत निर्देशन दिएको छ ।

त्यस्तै डुवान मुक्त घरको नमुना तयार गरी एकीकृत वस्ती बसाल्न आवस्यक व्यवस्था गर्न निर्देशन दिइएको सभापति श्रेष्ठले बताईन । समितिले बाढी प्रभावित क्षेत्रहरुमा स्वास्थ्य सेवा तथा सरसफाई, सर्पद्धंश तथा अन्य औषधि उपचारको अवस्यक व्यवस्था गर्न समेत निर्देशन दिएको छ ।

विपदको समयमा हुनसक्ने सम्भावित चोरी डकैती, बलात्कार र महिलामाथि हुन सक्ने हिंसाका घटनाहरु प्रति सजग रही भरपर्दो सुरक्षा प्रबन्ध मिलाउन समेत गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

त्यस्तै नेपालमा बन्दै गरेका लोकमार्गको बैज्ञानिक व्यवस्थापन गरी राजमार्ग जोडने सडकहरु, पानीधारलाई समानान्तर बनाउने, रेलमार्ग तथा सडकमा निश्चित दुरीमा पानीको निकासका लागि साइफन कल्भर्ट र सडक किनारमा नालाहरु अनिवार्य बनाउने व्यवस्था गर्न समेत निर्देशन दिएको छ ।