प्रधानमन्त्री ओलीको अभिव्यक्तिको सामाजिक सञ्जालमा व्यंग्यात्मक आलोचना

प्रधानमन्त्री ओलीको अभिव्यक्तिको सामाजिक सञ्जालमा व्यंग्यात्मक आलोचना
मङ्लबार, असार ३०, २०७७

काठमाडौं- नेपालको नयाँ नक्सा जारी गरेपछि प्रशंसा कमाइरहेका प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो अभिब्यक्तिको सामाजिक सञ्जालमा चर्को आलोचना शुरु भएको छ ।

भारतले नक्कली अयोध्या खडा गरेको र भगवान् राम भारतीय पनि नभइ नेपाली भएको अभिब्यक्ति दिएपछि सामाजिक संजालमा ओलीको आलोचनासँगै व्यङ्ग्य भएको हो ।

सीमा विवादका कारण छिमेकी भारतसँगको सम्बन्ध चिसिएको बेला यस्तो टिप्पणी गर्नु दुई देशको सम्बन्ध थप चिसिने भन्दै चिन्ता समेत ब्यक्त गरिएको छ ।

सामाजिक संजालका नियमित प्रयोगकर्ता, लेखक, पत्रकार, विश्लेषक तथा राजनीतिज्ञहरु मध्ये ओलीको अभिब्यक्तिको समर्थन गर्ने एकदमै थोरै छन् भने बहुसंख्यकले चर्को आलोचना गरेका छन् ।

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ब्यग्ङयात्मक ट्वीट गरेका छन्–‘नयाँ रामायण श्रवण गरौं !‘, सीधै वैकुण्ठधामको यात्रा गरौं !’

टिप्पणी गर्नेहरूमा सामाजिक सञ्जालका नियमित प्रयोगकर्ताहरूका साथै विभिन्न पेशाकर्मी लेखक, पत्रकार र राजनीतिक कार्यकर्ताहरू पनि रहेको उनीहरूको परिचयबाट बुझ्न सकिन्छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पछिल्लो प्रकरणले नेपाल भारतबीच थप विवाद सिर्जना गर्नेतर्फ प्रधानमन्त्रीको ध्यान गएको जस्तो नदेखिएको भन्दै ट्वीट गरेका छन्।

पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले अङ्ग्रेजीमा ट्वीट गर्दै लेखेका छन्: “धर्म राजनीति र कूटनीतिभन्दा माथि छ। यो निकै भावनात्मक विषय हो। बेतुकका अभिव्यक्तिले लज्जित मात्र बनाउँछ। अयोध्या वीरगञ्ज नजिकै भए सरायु नदी कहाँ छ ?”

ओलीको भनाइप्रति आश्चर्य व्यक्त गर्दै ट्वीट गर्नेमा उनकै पूर्व प्रेस सल्लाहकार कुन्दन अर्याल समेत छन्।

नेकपाको विदेश विभागका उपप्रमुख विष्णु रिजालले समेत ओलीबाट ‘एकपछि अर्को’ यस्तो अभिव्यक्ति आउनु ‘रहस्यमय’ रहेको ट्वीट गरेका छन्।

ओलीले के भनेका थिए?

सामाजिक सञ्जालमा निकै फैलिएको ओलीको सम्बोधनको अंशमा उनले रामायणमा उल्लेख भएको देश अयोध्याबारे विभिन्न दाबीहरू गरेका छन्।

“हामी अहिले पनि ठानिरहेका छौँ हामीले भारतका राजकुमार रामलाई सीता दियौँ। भारतका हैन अयोध्याका रामलाई सीता दिएका हौँ। अयोध्या भनेको वीरगञ्जभन्दा अलिकति पश्चिमपट्टिको गाउँ हो। अहिले खडा गरिएको अयोध्या होइन,” उनले भनेका छन्।

ओलीले अयोध्या भारतमा रहेको भए त्यहाँका राजाका छोरा विवाहका लागि कसरी जनकपुर आइपुगे भन्ने प्रश्न समेत उठाएका छन्।

“यहाँको जनकपुर वहाँको अयोध्या हुन्थ्यो भने कहाँ छोरीको बिहे गर्न खोज्या छ। कल्ले के गर्‍या छ। त्यस बेलाका जमानामा न टेलिफोन, न मोबाइल! कताबाट थाहा होस्! थाहा हुन पनि सम्भव थिएन,” उनले भनेका छन्।