थुनावामा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासत सिल

थुनावामा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासत सिल
मङ्लबार, असार ३०, २०७७

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनावामा कोरोना भाइरसको संक्रमण देखिएपछि हिरासत सिल गरिएको छ ।

हिरासतमा रहेका एक ३६ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएपछि जिल्ला प्रहरी कार्यालयको हिरासत नै सिल गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए ।

अहिले जिल्ला प्रहरी कार्यालयमा आउने नयाँ केशका पीडकलाई छुट्टै राखेर पीसीआर परीक्षण गर्ने गरिएको छ ।

पीडित र पीडकको सम्पर्कमा रहेका २३ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेर पठाइएको प्रहरीले जानकारी दिएको छ ।

३६ वर्षीय ती थुनुवा उपर बलात्कारको आरोप लागेको छ । बलात्कार आरोपीको बयान सकिएको र अदालतमा मुद्दा दर्ताको प्रकियामा रहेको छ ।

असार १४ गते पीडितको उजुरीका आधारमा पक्राउ गरिएका उनलाई हिरासतमा राख्नु अघि आरडीटी गर्दा उनमा कोरोना नेगेटिभ देखिएको थियो ।