पहिरोका कारण पूर्वपश्चिम र सिद्धार्थ राजमार्ग अवरुद्ध

पहिरोका कारण पूर्वपश्चिम र सिद्धार्थ राजमार्ग अवरुद्ध
मङ्लबार, असार ३०, २०७७

बुटवल । गए रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा पूर्वपश्चिम र सिद्धार्थ राजमार्ग अवरुद्ध भएका छन् ।

पहिरोका कारण पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल नारायणघाट खण्डको दाउन्नेमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।

रातिदेखि झरेको पहिरोले राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रुपले बन्द रहेको प्रदेश नं ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

यस्तै, बुटवल, पाल्पा खण्डको दोभानमा सोमबार दिउँसो खसेको पहिरो हटाउन नसक्दा अवरुद्ध सिद्धार्थ राजमार्ग पनि पूर्णरुपले बन्द रहेको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए ।

बुटबल, पाल्पा खण्डको तिनाउ गाउँपालिका ३ पैठेडाँडा क्षेत्रमा सडकमाथिबाट खसेको सुख्खा पहिरोसहित ढुङ्गा खस्दा सोमबारदेखि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो ।

ढुङ्गा फुटालेर पहिरो हटाउने र सडक खुलाउने प्रयास भइरहेको ट्राफिक प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा पूर्वपश्चिम र सिद्धार्थ राजमार्गमा सवारी साधन रोकिएका छन् ।