मेलम्चीको अस्थायी सुरुङको गेट फुट्दा दुईजना बेपत्ता

मेलम्चीको अस्थायी सुरुङको गेट फुट्दा दुईजना बेपत्ता
मङ्लबार, असार ३०, २०७७

सिन्धुपाल्चोक । परीक्षणको क्रममा रहेको मेलम्ची खानेपानीको सुरुङको गेट फुट्दा दुईजना बेपत्ता भएका छन ।

आज दिउँसो साढे १२ बजे पानी भरिएको सुरुङको गेट फुट्दा पानीले बगाएर त्यहाँ कार्यरत ५५ बर्षीय सवारी चालक राधाकृष्ण थापामगर र २५ बर्षिय इन्जिनियर सतिस गोहित बेपत्ता भएको त्यहाँ कार्यरत कर्मचारी युवराज गिरीले जानकारी दिए ।

त्यस्तै कन्सल्टयान्ट दोर्जे पेम्बा र इन्जिनियार सेखर खनाल घाइते भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक फलबहादुर तामाङ्ले जानकारी दिए ।

बेपत्ताको हेलम्बु प्रहरी र त्यहाँ रहेको सेनाले खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए ।

गेट फुटेपछि आएको बाढीले बा १ झ ८७६४ नम्बरको हाइलक्स गाडी समेत बगाएको छ । मेलम्ची खानेपानी आयोजनाले एक साता अघिदेखि सुरुङ परिक्षण गरिरहेको छ ।