सुस्मिता थापाको हत्यामा संम्लग्न चार जना कारागार चलान

सुस्मिता थापाको हत्यामा संम्लग्न चार जना कारागार चलान
बुधबार, असार ३१, २०७७

मकवानपुर । हेटौंडाकी २६ वर्षीया सुस्मिता थापाको हत्याका आरोपी ४ जनालाई आज पुर्पक्षका लागि कारागार चलानको आदेश भएको छ ।

हत्या आरोपी ससुरा ५८ वर्षीय प्रकाश थापालाई भीमफेदी कारागार पठाइएको छ । सासु ५० वर्षीया तुलसा कुमारी थापा, जेठी नन्द दुर्गा थापा कार्की र कान्छी नन्द सीता थापालाई चितवन कारागार पठाइएको छ ।

गत आइतबार सरकारी वकिलको कार्यालयबाट हत्यामा संलग्न रहेको भन्दै पाँचजना बिरुद्ध अभियोगपत्र दायर भएको थियो । अभियोगपत्रमा ससुरा प्रकाश र नन्द सितालाई आजिवन कैद, ज्वाई अरुण र अर्की छोरी दुर्गालाई २५ वर्ष कैद तथा सासु तुलसालाई साढे १२ वर्ष कैदको माग गर्दै अभियोगपत्र दायर भएको थियो ।

सोमबारदेखि भएको थुनछेक बहसपछि जिल्ला अदालत मकवानपुरकी जिल्ला न्यायाधीश सीता शर्मा अधिकारीको एकल इजलासले पुर्पक्ष थुनाको लागि आज आदेश भएको हो ।

असार २ गते भएको घटनाका ४ अभियुक्तलाई असार १५ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक गरेको थियो। आमाजू दुर्गा थापाका पति अरुण कार्की फरार रहेको प्रहरीले जनाएको छ।