नेपालमा कोरोना संक्रमितभन्दा निको हुने बढे

सक्रिय संक्रमित-६ हजार ११४, निको हुने- ११ हजार २५

नेपालमा कोरोना संक्रमितभन्दा निको हुने बढे
बिहिबार, साउन १, २०७७

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारसम्मको तथ्यांक अनुसार कोरोना सङ्क्रमितको सङ्ख्या १७ हजार १७७ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार मंगलबार  २६ वटा प्रयोगशालामा पाँच हजार ९० जनाको पीसीआर परीक्षण गरिएकोमा देशभर ११६ जना कोरोना सङ्क्रमित थपिएका छन्  । एकैदिन कोरोनामुक्त भई ६९७ जना डिस्चार्ज भएका छन् ।

यसले दैनिक सङ्क्रमित हुनेभन्दा निको हुनेको सङ्ख्या बढेको देखाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, बुधबार काठमाडौंँमा सातसहित ११६ जनामा कोरोना पुष्टि भएको हो ।

उनले हालसम्म दुई लाख ९८ हजार ८२९ को पीसीआर परीक्षण गरिएको बताए । गौतमले हालसम्म आइसोलेसनमा छ हजार ११३ जना रहेको जानकारी दिए । हालसम्म डिस्चार्ज हुनेको जम्मा सङ्ख्या ११ हजार २५ पुगेको छ ।

यस्तै ६ हजार ११४ सक्रिय कोरोना सङ्क्रमित रहेको प्रवक्ता गौतमले जानकारी दिए। देशभरका क्वारेन्टाइनमा २४ हजार ५२७ जना रहेको उनले बताए । गौतमले थप एक कोरोना सङ्क्रमितको मृत्यु भएसँगै मृतकको संख्या ३९ पुगेको छ ।