सङ्खुवासभाका पहिरो विस्थापितलाई अस्थायी बासस्थान

सङ्खुवासभाका पहिरो विस्थापितलाई अस्थायी बासस्थान
बिहिबार, साउन १, २०७७

सङ्खुवासभा – सङ्खुवासभाको शिलिचोङ–१ को बेसिन्दामा गत आइतबार पहिरो जाँदा बिस्थापित भएकालाई अस्थायी बसोबासको व्यवस्था गरिएको छ ।

शिलिचोङ–१ वालाको बुधबारे बजारमा सेनाको बराहदल गुल्मले अस्थायी बासस्थानका लागि टेन्ट र शौचालय निर्माण गरिदिएको हो ।

पहिरोको थप जोखिमका कारण बेसिन्दाबाट चित्रेगाउँमा सारिएका विस्थापित ८२ घरका ३८० जनालाई अस्थायी बसोबासका लागि प्रदेश नं १ सरकारले मङ्गलबार नेपाली सेनाको हेलिकोप्टरबाट राहत सामग्री बुधबारे बजारमा पुर्‍याएको थियो । सामग्री पुगेसँगै सेनाले टेन्ट निर्माण गरेको हो ।

विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाउने र थप राहत र उद्धारको कामलाई प्रभावकारी र सहज बनाउने शिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङ्ले बताए ।

अस्थायी बसोबासका लागि तयार गरेको टेन्टमा, शौचालय, खानेपानी र बिजुलीबत्ती जडान भइरहेको उनले जानकारी दिए ।