दार्चुलाको सीमामा त्रिपालमुनि बसेर काम गर्न बाध्य छन् सुरक्षाकर्मी

दार्चुलाको सीमामा त्रिपालमुनि बसेर काम गर्न बाध्य छन् सुरक्षाकर्मी
बिहिबार, साउन १, २०७७

दार्चुला – चीन र भारतसँग सीमा जोडिएका क्षेत्रमा खटिएका प्रहरी त्रिपालमुनी बसेर काम गर्न बाध्य छन् । दार्चुलाको व्यास गाउँपलिका–१ छांगरु र सीमा प्रहरी चौकी तिंकरस्थित छायालेक प्रहरी त्रिपालमुनी बसेर काम गर्न बाध्य छन् ।

सीमा प्रहरी चौकी तिंकर छायालेकमा रहेको नेपाल प्रहरीले साप्ताहिक रुपमा नेपाल चीन सीमासम्म गस्ती गर्छन् । गत जेठ महिनामै छायालेक पुगेको प्रहरीले सीमा क्षेत्रसम्म साप्ताहिक गस्ती थालेको हो ।

नेपाल चीन सीमा स्तम्भ नम्बर १ सम्म नेपाल प्रहरीको साप्ताहिक रुपमा गस्ती भइरहेको सीमा प्रहरी चौकी छायालेक तिंकरका इञ्चार्ज हरकसिंह महताले बताए । यो क्षेत्रमा विवाद छैन । तर पनि नेपाल प्रहरीले आफ्नो गस्ती समयअनुसार गरिरहेको उनले बताए ।

छायालेकबाट तिंकर भञ्जाङमा रहेको सीमास्तम्भसम्म पुग्न ४ देखि ६ घण्टाको उकालो हिड्नुपर्छ । यहाँ पुग्न माथिल्लो बाटाबाट लेक लाग्ने गर्छ । सबै यो सीमा स्तम्भसम्म पुग्न सक्दैनन् ।

अप्ठ्यारो ठाउँ भए पनि कार्य क्षेत्रभित्रको सीमा स्तम्भ भएको कारण बेला बेलामा पुग्ने गरेको सुरक्षाकर्मी बताउँछन् ।