उपत्यकाका सबै रुटमा साझा बस सञ्चालन

उपत्यकाका सबै रुटमा साझा बस सञ्चालन
बिहिबार, साउन १, २०७७

काठमाडौं । साझा यातायातले आजदेखि काठमाडौं उपत्यकामा बस सेवा सञ्चालन गरेको छ ।

नेपाल सरकारले तय गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई उपत्यकाका सबै रुटमा बस सेवा सञ्चालन गरिएको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले बताए ।

पाण्डेले साझा यातायात सञ्चालन हुँदै आएका रुटमा २६ वटा बस बिहान साढे ७ बजेदेखि साँझा ७ बजे सम्म सञ्चालन हुने बताए

साझाका बसहरु बेलुका ग्यारेजमा आएपछि पूर्ण रुपमा सफा गरिने र बिहान सडकमा निकाल्नु अघि निर्मलिकरण गरिने उनले बताए ।

बस चालक र सहचालकले अनिवार्य मास्क, पञ्जा र स्यानिटाइजरको प्रयोग गरी सुरक्षा सावधानी अपनाउने पाण्डेले बताए ।

साझा बसमा यात्रुले अनिवार्य मास्क तथा स्यानिटाइजरको प्रयोग गर्नुपर्ने छ । त्यस्तै बस भाडाका लागि खुद्रा पैसाको व्यवस्था पनि यात्रु आफैले गर्नुपर्ने पाण्डेले बताउनुभयो ।

साझा यातायातले सरकारले तोके अनुसार साविकको भन्दा ५० प्रतिशत बढी भाडा उठाउनेगरी बस सेवा सुचारु गरेको हो ।

साझा यातायातले लगनखेलबाट गोदावरी, थानकोट, लामाटार, बालाजु, बुढानिलकण्ठ, सुर्यविनायक लगायतका रुटमा बस सञ्चालन गरेको छ ।