बेपत्ताको खोजीमा गएका आफैँ बेपत्ता भएपछि…..

सशस्त्रका ७ जना गोताखोर २ घण्टा पछि उद्धार

बेपत्ताको खोजीमा गएका आफैँ बेपत्ता भएपछि…..
बिहिबार, साउन १, २०७७

सिन्धुपाल्चोक- बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको गेट नम्बर १७ फुट्दा बेपत्ता भएकाको खोजीमा जुट्दै गर्दा र्‍याफ्टिङ बोट पल्टिँदा सम्पर्कविहिन भएका सशस्त्रका ६ जनाको सकुसल उद्धार गरिएको छ ।

सेनासहित सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले विपद उद्धार नम्बर २० गण, काठमाण्डौ सिनामंगलबाट सशस्त्र प्रहरी निरीक्षक नन्दकिशोर महतोको कमाण्डमा खटिएको टोलीको बोट पल्टिदा ७ जना एकसाथ इन्द्रावतीमा बेपत्ता भएका थिए ।

इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङका अनुसार रातीको अविरल वर्षाले बढेको इन्द्रावती नदीको बाढीमा ‘लाइफ ज्याकेट’ लगाएका हुनाले सबैलाई सुरक्षित भेटिएको छ ।

उनीहरुमध्ये पानी धेरै खाएका कारण सशस्त्र प्रहरी जवान रामजी भण्डारीमा भने सामान्य समस्या देखिएको छ । घाइते भण्डारीको उपचार मेलम्ची प्राथामिक स्वास्थ्य केन्द्रमा भइरहेको छ ।

सशस्त्र प्रहरीको टोली बेपत्ता खोजी गर्न इन्द्रावती नदीमाथि रहेको मेलम्ची पुलबाट सय मिटर परसम्म पुगेका थिए । बिहिवार बिहान एक्कासी र्‍याफ्टीङ बोर्ड पल्टिएर ७ जना सशस्त्र प्रहरी सम्पर्कविहिन भएका थिए ।

गत मंगलबार दिउसो करिब १२ बजे एक्कासी मेलम्ची खानेपानी आयोजनाको अम्बाथान् अडिटको गेट नम्बर १७ फुट्दा निस्किएको पानीले दुईजना बेपत्ता भएका थिए भने अन्य दुई जना घाइते भएका थिए ।

बेपत्ता भएका जनकपुरका इन्जिनियर सतिश गोहितको शव बुधवार दिउँसो इन्द्रावती खोलाको बाहुनेपाटीमा फेला परेको थियो ।

जसमध्ये आयोजनामा कार्यरत कर्मचारी सवारी चालक ५५ वर्षिय राधाकृष्ण थापामगर भने अझै बेपत्ता छन् । तिन वेपत्ताको खोजीमा लागेको सशस्त्रको टोली पनि बोट पल्टिएर दुर्घटनामा परेको थियो ।