सागका पदक विजेतालाई कांग्रेसले नगदसहित सम्मान गर्ने

सागका पदक विजेतालाई कांग्रेसले नगदसहित सम्मान गर्ने
मङ्लबार, साउन ६, २०७७

काठमाडौं-नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभागले सागमा स्वर्ण पदक जितेका खेलाडीहरुलाई नगदसहित सम्मान गर्ने भएको छ । बिभागले आज ललितपुरमा पत्रकार सम्मेलन गर्दै १३औं साग खेलका स्वर्ण पदक बिजेताहरुलाई नगदसहित सम्मान गर्ने जानकारी दिएको हो ।

त्यस्तै बिभागले टोकियो ओलम्पीक २०२१ मा नेपालका तर्फबाट सहभागी हुने खेलाडी र प्रशिक्षकहरुको कोरोना बिमा गर्ने जनाएको छ । उक्त खेलको तयारी र सहभागीताका सम्बन्धमा तथा बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगीताहरुमा नेपाली खेलाडीहरुको खेल सहभागीताका लागि गरिने तयारी, कोरोनाको सुरक्षा र सावधानी अपनाउदै प्रशिक्षण सञ्चालन गर्न सरकारसंग माग गर्ने बिभागका प्रमुख मोहन बस्नेतले जानकारी दिए ।

कांग्रेस केन्द्रीय खेलकुद विभागले ८औं राष्ट्रिय खेलकुद प्रतियोगिता र १३औं दक्षिण एसियाली खेलकुदमा भएको खर्चको पारदर्शी रुपमा हिसाब देखाउन सरकारसँग माग गरेको छ ।

उनले ओलम्पिक कमिटीले विदेशीको सहायता लिँदा सरकारको अनुमति लिन नपर्ने भन्ने ऐनको प्रावधान खारेजीको समेत माग गरे । त्यस्तै बिभागले १३औं सागमा भारतीय टीभी प्रसारकसँग लिएको ८ करोड रुपैयाँको अहिलेसम्मको हिसाब नदेखिएकाले त्यसको हिसाब उपलब्ध गराउन समेत माग गरेको छ ।