नेपालमा ०७२ सालको भन्दा ठूलो भूकम्पको खतरा भएको वैज्ञानिकहरूको चेतावनी

नेपालमा ०७२ सालको भन्दा ठूलो भूकम्पको खतरा भएको वैज्ञानिकहरूको चेतावनी
फाइल तस्वीर : ०७२ साल बैशाखमा गएको भूकम्पले भत्किएर भग्नावशेषमा परिणत धरहरा ।
मङ्लबार, साउन ६, २०७७

काठमाडौं – नेपालमा फेरि पनि शक्तिशाली भूकम्प जान सक्ने वैज्ञानिकहरुले चेतावनी दिएका छन् ।

युनिभर्सिटी अफ अल्बर्टाका शोधकर्ताहरुले गरेको अध्ययनमा ०७२ साल बैशाखको भन्दा पनि शक्तिशाली भूकम्प आउँन सक्ने चेतावनी दिइएको छ ।

शोधकर्ताहरुले नेपालमा पेट्रोलको खोजीको क्रममा जमिनभित्र फरक किसिमका आवाजहरु सुनेको बताएका छन् । यी आवाजहरु, जमिनको सतह र टेक्टोनिक प्लेट्समा लगातार भइरहेका परिवर्तनका आधारमा शोधकर्ताहरु यस्तो निष्कर्षमा पुगेका हुन् ।

शोधकर्ताहरुको पूरा शोधपत्र अमेरिकाको वैज्ञानिक जर्नल प्रोसिडिङ्स अफ द नेशनल एकेडेमी अफ साइन्सेज (पीएनएस) मा प्रकाशित गरिएको छ ।

सम्भावित शक्तिशाली भूकम्पले सबैभन्दा धेरै असर नेपालको दक्षिण पश्चिम क्षेत्रमा गर्ने अनुसन्धानले देखाएको छ । शोधपत्रका अनुसार नेपालमा आउने भूकम्पको लागि गंगा नदीको बहाव क्षेत्रको तल जमिनभित्र हुने परिवर्तन मुख्य रुपमा जिम्मेवार हुनेछन् ।

युनिभर्सिटी अफ अल्बर्टाका शोधकर्ता माइक डुभालका अनुसार उनको टिमले नेपालको हिमालय क्षेत्रको जमिनको तल तीव्र रुपमा भइरहेका परिवर्तनहरुलाई रेकर्ड गरेका छन् । यी परिवर्तनले बाक्लो बस्ती भएका क्षेत्रमा विनाश ल्याउन सक्ने उनले चेतावनी दिए ।

माइक डुभालको टिमले नेपालको जमिनको तलको लेयरको अध्ययन गरेका छन् । अध्ययनमा उनीहरुले नेपालको पहाडी जमिनको तलको लेयर गंगा नदीको बहाव क्षेत्रको तलको लेयरसँग जोडिएको पाएका छन् ।

गंगाको तलको जमिनबाट लगातार आवाजहरु आइरहेका छन् जसले गंगाको तल ठूलो हलचल भइरहेको बताउँछन् । यसको सीधा असर नेपालमा पर्नेछ ।

माइकका अनुसार हिमालयको तल जमिनका लेयरहरूको ठूलो र जटिल संजाल छ । यो यतिसम्म जटिल छ कि यसलाई बुझ्न निकै कठिन छ । कुन चाहीँ फल्ट कतिबेला हल्लिन्छ र त्यसबाट कति ठूलो भूकम्प आउँछ भन्ने अहिल्यै भन्न सहज छैन ।

नेपालमा पछिल्लो एक शताब्दीमा २०७२ को भूकम्पबाहेक अर्को ठूलो भूकम्प आएको छैन । तर, जमिनमुनि लगातार हलचल रेकर्ड भइरहेको छ । यो हलचलले ठूलो परिवर्तनको संकेत गर्छ र यो परिवर्तनका कारण नेपालमा कुनै पनि बेला ठूलो भूकम्प आउन सक्छ ।