घान्द्रुकको देउरालीबाट आलेडाँडासम्म प्याराग्लाइडिङ सञ्चालन गर्ने तयारी

घान्द्रुकको देउरालीबाट आलेडाँडासम्म प्याराग्लाइडिङ सञ्चालन गर्ने तयारी
प्रतिकात्मक तस्वीर
बिहिबार, साउन ८, २०७७

पोखरा – कास्कीको अन्नपूर्ण गाउँपालिकाले घान्द्रुकको देउरालीबाट आलेडाँडासम्म प्याराग्लाइडिङ सञ्चालन गर्ने तयारी थालेको छ ।

साहसिक खेल प्याराग्लाइडिङमा रूचि राख्ने पर्यटकलाई लक्षित गरी उनीहरूलाई भित्र्याउने सोचका साथ प्याराग्लाइडिङ सञ्चालनको तयारी भएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बताए ।

देउरालीबाट आलेडाँडासम्म प्याराग्लाइडिङका लागि उपयुक्त हुने देखिएका कारण परीक्षण उडान गरी सम्बद्ध निकायबाट अनुमति लिने प्रक्रिया अघि बढाइने उनले बताए ।

साहसिक पर्यटनको सम्भाव्य क्षेत्र लुम्लेमा रक क्लाइम्बिङ, महँगो डाँडामा जिप फ्लायर, सार्कुको घट्टे खोलामा क्यानोनिङजस्ता पर्यटकीय गतिविधिका सम्भाव्यतालाई उजागर गरिने छ ।

गाउँपालिकाभित्रका ऐतिहासिक, धार्मिक एवं पर्यटकीयस्थलको प्रवर्द्धन गर्ने बताउँदै अध्यक्ष कुँवरले परम्परागत कला संस्कृतिको संरक्षण सम्बद्र्धन गरिने बताएका छन् ।

भदौरे, घान्द्रुक, लान्द्रुक, पोथना, अष्ट्रेलियन क्याम्प, पाउँदुरकोट, दाङसिङमा रहेका घरवास पर्यटनको प्रचारप्रसार, प्रवर्द्धन व्यवस्थित गर्नुका साथै ती क्षेत्रलाई पर्यटन सूचना केन्द्रका रूपमा विकास गरिने उनको भनाइ छ ।