कोरोना संक्रमणपछि कसरी दिन बिताइरहेका छन् अस्पतालमा अमिताभ बच्चन

कोरोना संक्रमणपछि कसरी दिन बिताइरहेका छन् अस्पतालमा अमिताभ बच्चन
आइतवार, साउन ११, २०७७

एजेन्सी- बलिउड अभिनेता अमिताभ बच्चन यतिखेर मुम्बईस्थित नानावती अस्पतालमा कोरोनाको उपचार गराइरहेका छन् ।

गत ११ जुलाईमा उनीसहित छोरा अभिषेक बच्चन, बुहारी ऐश्वर्य राय र नातिनी आराध्यालाई कोरोना संक्रमण देखिएको थियो।

सामाजिक सञ्जालमा निकै सक्रिय रहने उनी अस्पतालमा बस्दा  दिनचर्या कसरी बितिरहेको छ भन्ने सर्वत्र चासोको विषय रहेको छ । बच्चन सार्वजनिक जीवनमा धेरै संयमित छन्।

अस्पतालमा योगा र सामान्य शारीरिक अभ्यास गर्छन्। साथै उनी विश्वभर भइरहेको ताजा घटनाको जानकारी लिन सामाजिक सञ्जाल प्रयोग गरिरहेका छन्।

अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य छ। अन्य पोजिटिभ बिरामी जस्तै ७ दिनदेखि १० दिनसम्म उनलाई निरीक्षणमा राखिएको छ। उनीसहित परिवार पूर्ण रुपमा चार स्वास्थ्यकर्मीको निगरानीमा छन्।

स्वास्थ्यकर्मीले बच्चनको परिवारलाई ख्याल गरिरहेका छन्। बाहिरबाट कसैलाई भेट्न दिइएको छैन। घरबाट सामान लिएर ड्राइभर गेटसम्म छोड्न जाने गरेका छन्।

कोभिड१९ को पूर्ण रुपमा नेगेटिभ रिपोर्ट आएपछि अस्पतालले उनलाई डिस्चार्ज दिने भएको छ । उनैले उपचार गरिरहेको अस्पतालमा छोरा अभिषेक, बुहारी ऐश्वर्य र नातिनी पनि उपचार जारी छ ।

भारतमा पछिल्लो २४ घण्टामा ४८ हजार ४ सय ७२ नयाँ संक्रमित फेला परेका छन् । १३ लाख ८५ हजार ४ सय ९४ मा कोरोना संक्रमण देखिएको छ । ३२ हजार ९६ ले यस भाइरसको कारण ज्यान गुमाएका छन् ।

८ लाख ८६ हजार २ सय ३५ संक्रमित निको भएका छन् ।