सुर्ति सेवनकै कारण बार्षिक २७ हजार बढीको मृत्यु, सर्वसाधारणको पहुँच नपुग्ने गरी कर बढाउन सुझाव

सुर्ति सेवनकै कारण बार्षिक २७ हजार बढीको मृत्यु, सर्वसाधारणको पहुँच नपुग्ने गरी कर बढाउन सुझाव
सोमवार, साउन १२, २०७७

काठमाडौं । स्वास्थ्य अधिकार र सूर्तिजन्य नियन्त्रण नेटवर्कले सुर्तिजन्य पदार्थमा कर बढाउन सरकारलाई सुझाव दिएको छ ।

आम सर्वसाधारणको पहुँच नपुग्ने गरी करको दायरा बढाउन र हरेक उत्पादनमा ९० प्रतिशतभन्दा बढी चेतावनी मुलक सन्देश राख्ने नियम कडाईका साथ पालना गराउन सरकारलाइ सुझाव दिएको हो ।

नेपालमा सुर्ति सेवनकै कारण प्रतिवर्ष २७ हजार बढी नागरिकको मृत्यु हुने गरेको भन्दै नेटवर्कले यस्तो सुझाव दिएको हो । नेटवर्कको समन्वयमा रिसोर्स सेन्टर फर प्राइमरी हेल्थ केयरले आयोजना गरेको कार्यक्रममा नेटवर्कका संयोजक शान्तराम मुल्मीले नेपालमा प्रतिवर्ष २७ हजार १ सय ३७ जनाको मृत्यु हुने गरेको बताए ।

सहज पहुँचका कारण ग्रामिण क्षेत्रमा ३९ दशमलव २ प्रतिशतले सुर्ति सेवन गर्ने गरेको तथ्याङ्कले देखाउँछ ।

सरकारले आफैले बनाएका नीतिहरु समेत कार्यान्वयनमा कमजोर देखिएको, सुर्तिजन्य उत्पादनमा ९० प्रतिशतभन्दा बढी चेतावनीमुलक सन्देश राख्ने नियम भएपनि स्वदेशी कम्पनीहरुले पालना नगरेको तर्फ सरकारको ध्यान जान नसकेको नेटवर्कले जनाएको छ ।

नेपालमा १० वर्षभन्दा माथि उमेर समूहका ३३ प्रतिशत व्यक्तिले सुर्ति सेवन गर्ने गरेको तथ्याङ्क छ । जसमा २७ प्रतिशत पुरुष र ६ प्रतिशत महिला रहेका छन् । तथ्याङ्क अनुसार सबैभन्दा बढी पहाडी क्षेत्रमा ६८ दशमलव २ प्रतिशत, तराई क्षेत्रमा ४२ दशमलव २ प्रतिशत र मध्यपहाडी क्षेत्रमा ४० प्रतिशतले सुर्ति सेवन गर्ने गरेका छन् । ९८ प्रतिशत बढी व्यक्तिलाई सुर्ति सेवन स्वास्थ्यका लागि हानिकारक छ भन्ने थाहा हुँदा हुँदै पनि सेवन गर्ने गरेको तथ्याङ्कले देखाउँछ । सुर्तिसेवन गर्ने व्यक्तिहरुका कारण कार्यक्षेत्रमा २२ दशमलव ५ प्रतिशत र घरमा ३३ दशमलव ५ प्रतिशत सुर्ति सेवन नगर्ने व्यक्तिहरु क्यान्सरको सिकार भइरहेका छन् ।