कोरोना रोकथाममा गरिएको सरकारी प्रयासको नकारात्मक प्रचारबाजी भयो : स्वास्थ्यमन्त्री

कोरोना रोकथाममा गरिएको सरकारी प्रयासको नकारात्मक प्रचारबाजी भयो : स्वास्थ्यमन्त्री
सोमवार, साउन १२, २०७७

काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले गरेका प्रयासहरुलाई नकारात्मक रुपमा प्रचारबाजी गर्ने काम भइरहेको बताए ।

चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालको १३१औं बार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री ढकालले कोरोना नियन्त्रणका लागि सरकारले सीमित स्रोत साधनका बाबजुत पनि प्रभावकारी रुपमा काम गरेको भएपनि नकारात्मक टिकाटिप्पणी र प्रचारबाजी भइरहेको बताए ।

जनता र राष्ट्रप्रतिको जवाफदेहितालाई मध्यनजर गर्दै सरकारले कोरोना नियन्त्रणका लागि गरेको प्रयास दक्षिण एसियामै राम्रो भएको उाको दावी छ । कोरोना महामारी नियन्त्रणको बिषयलाई राजनीतिकरण नगर्न आग्रह गर्दै कोरोनाले कुनै पार्टी वा जात नभन्ने मन्त्री ढकालले बताए । मन्त्री ढकालले काम गर्नेहरुलाई कमजोर बनाउने नियतका साथ बदनाम गर्न केहीले अवसर बनाएको टिप्पणी पनि गरे । उनले कोरोना महामारीलाई अन्त्य गर्नका लागि एकतावद्ध भएर लड्न आह्वान गरे ।

मन्त्री ढकालले वीर अस्पताललाई जनताले अनुभूती गर्ने गरि सेवा दिन नसकेको भन्दै यसलाई सुधार गर्दै अघि बढ्नुपर्ने बताए ।