पहिरोले प्रभावित मराङको जनजीवन थप कष्टकर, चिसो भुईमा सुत्दा पीडित बिरामी परे

पहिरोले प्रभावित मराङको जनजीवन थप कष्टकर, चिसो भुईमा सुत्दा पीडित बिरामी परे
सोमवार, साउन १२, २०७७

सन्तोष गौतम
म्याग्दी-पहिरोले उठिबास लगाएपछि म्याग्दीको धवलागिरी गाउपालिका–६ मराङको जनजीवन कष्टकर बनेको छ । १५ दिनसम्म पनि पर्याप्त राहत सामग्री पुग्न र घरबास गुमाएकाको ब्यवस्थापन हुन नसक्दा पीडितहरु धमाधम विरामी हुन थालेका छन् ।

गत असार २६ गते गएको पहिरोका कारण घरबास गुमाएका र जोखिममा रहेका मराङको विभिन्न ठाउँका पहिरो पीडितहरु विद्यालय, सामुदायिक भवन र अस्थाई टहरामा बसेका छन् ।

रिख, घण्टीवाङ र कुम्रिका पहिरो पीडितलाई आरवाङको जनविकास आधारभूत, कल्लेनीका पीडितलाई शिवाङको हेम मावि, ठूलोगाउँ र खक्सीका पीडितलाई खाली घर, राम्चेकालाई सामुदायिक भवन र टहरा बनाएर राखिएको छ ।

त्यसरी विकल्प ओजेर पीडितहरुलाई राखिएपनि पर्याप्त खाद्यान्न, कपडा, त्रिपाल, म्याटेस सुरक्षित खानेपानी र सरसफाई अभावको समस्या देखिएको स्थानीय प्रेम लामगारे बताउँ छन् ।

मराङका १९ जनाले पहिरोमा ज्यान गुमाएका थिए भने १२ जना घाइते भएका थिए । प्रशासनको तथ्याङ्कमा मराङमा पहिरोले ७२ घरमा पूर्ण क्षति भएको छन् । नेपाल रेडक्रस सोसाइटीको म्याग्दी शाखाको तथ्यांक अनुसार अनुसार १७ घर भत्कीएक छन्, १५ घरमा आंशित क्षति भएकाृे छ भने ७८ घर उच्च जोखिममा परेका छन् ।

गाउपालिकाले २३ घरमा पूर्ण क्षति भएको र २२६ घर जोखिममा भएको जनाएको छ । सामुहिक रुपमा सडकमा टहरा बनाएर तथा स्कुल र सामुदायिक भवनको चिसो भुईमा पराल ओछ्याएर बस्न बाध्य सुत्केरी, गर्भवति, बालबालिका, जेष्ठ नागरिकहरु बिरामी पर्न थालेका छन् ।

समन्वयको अभावमा निकाय पिच्छे फरक–फरक तथ्याङ्क हुँदा पीडितको पहिचान, वर्गीकरण गरि सरकारले घोषणा गरेको राहत उपलब्ध गराउनसमेत अलमल देखिएको छ । मृतकका आफन्तले गाउपालिकाले प्रतिपरिवार दशहजार रुपैयाँका दरले दिएको किरियाखर्च बाहेक प्रदेश र संघीय सरकारको राहत नपाएको गुनासो गरेका छन् ।

भौगोलिक बिकटता, घोरेटोबाटो, झोलुङ्गे पुल समेत बगाएको, दाताले हेलिकप्टरबाट ल्याएको राहत ठूलो संख्याका पीडितका लागि पर्याप्त नभएको, प्रदेश र संघीय सरकारबाट अपेक्षाकृत सहयोग नपाउँदा स्थानीय जनप्रतिनिधिहरु पहिरो पीडितको ब्यवस्थापन गर्न नसक्दा आफै पिडामा परेको तिलकुमारी केसी बताउँछिन् ।

सडक अवरुद्ध भएको र भौगोलिक विकटताको बाहनामा स्थानीय प्रशासन, प्रदेश र संघीय जनप्रतिनिधि तथा सुरक्षा निकायले पहिरोबाट अति प्रभावित मराङ, बिम, ताकम, धारापानी, देविस्थान, कुइनेमंगले, दानामाका पीडितको पीडा सुन्ने तथा राहत वितरण गर्ने काममा उदासिनता देखाएका छन् ।

जसले गर्दा दाताले दिएको राहत सामग्री सदरमुकाम बेनीमै थुप्रिएको छ । पहिरोले अवरुद्ध सडक, घोरेटोबाटो, विद्युत, सञ्चार, खानेपानी सूचारु गराउन र राहत उपलब्ध गराउन ढिलाई हुँदा मराङका पहिरो पीडितको ब्यवस्थापनमा चुनौति थपिएको छ ।