मधुकुमार मरासिनी सचिवमा बढुवा

मधुकुमार मरासिनी सचिवमा बढुवा
मङ्लबार, साउन १३, २०७७

काठमाडौँ- सरकारले सहसचिव मधुकुमार मरासिनीलाई सचिव (विशिष्ट श्रेणी) मा बढुवा गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बेलुकी बसेको मन्त्रिपरिषद्को बैठकले वरिष्ठ सहसचिव मरासिनीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । मरासिनी प्रदेश ५ को आर्थिक मामिला तथा योजना मन्त्रालयमा सचिव छन् ।

बढुवा सिफारिस समितिले केही दिनअघि वरिष्ठ सहसचिवहरु चन्द्रमान श्रेष्ठ, गोकर्णमणि दुवाडी र मरासिनी गरी तीन जनाको नाम सचिवका लागि सिफारिस गरेको थियो । उक्त सूचीमा मरासिनीको नाम तेस्रो स्थानमा थियो ।

केही अघिसम्म पहिलो नम्बरमा सिफारिस भएकालाई सचिवमा बढुवा गर्ने गरे पनि पछिल्लो समय मन्त्रिपरिषद्ले क्रमसंख्याभन्दा बाहिर गएर पनि सचिव बनाउने गरेको छ । कर्णाली प्रदेशमा प्रमुख सचिव रिक्त छ ।

मरासिनीलाई उक्त स्थानमा पदस्थापना गरिने सम्भावना रहेको मन्त्रिपरिषद् सचिवालयले जानकारी दिएको छ ।