आजबाट खुल्दै देशैभरीका होटल व्यवसाय

आजबाट खुल्दै देशैभरीका होटल व्यवसाय
बिहिबार, साउन १५, २०७७

काठमाडौँ । सरकारको पूर्ववत निर्णयअनुसार आजबाट देशैभरका होटल ब्यवसाय सञ्चालनमा आउँदैछन ।

चैत्र ११ गते देखि मुलक पूर्णतः लकडाउनमा गएसँगै बन्द हुनपुगेका नेपाली होटल तथा पर्यटन व्यवसाय लामो समयपछि बिहिबारबाट पुनः सञ्चालनमा आउने भएका हुन् ।

स्वास्थ्य सुुरक्षालाई ध्यानमा राखेर तारे होटलसहित साना तथा मझौला होटल तथा रेष्टुरेन्टहरु सञ्चालन आउने भएका छन् । तारे र अन्य साना तथा पर्यटकमैत्री डिलक्स होटल, रिसोर्ट तथा रेष्टुरेन्टहरुले समेत यतिखेर व्यवसायमा फर्किने तयारी गरिरहेका छन् ।

होटल एसोशिएसन नेपालका अनुसार पहिलो चरणमा २० प्रतिशत होटल सञ्चालन ल्याइने तयारी भएको छ । त्यसपछि भने बजार र व्यवसायीक अवस्थालाई हेरेर बाँकी होटलहरु पनि सञ्चालनमा ल्याइनेछ ।

त्यस्तै साना तथा मझौला होटल तथा पर्यटन व्यवसायीहरुले पनि व्यवसाय पुनः सञ्चालनको तीब्र तयारी थालेका छन् । व्यवसाय सञ्चालन गर्न विभिन्न संघ संगठनहरुले आफु मातहतमा व्यवसायीहरुलाई आह्वान गरिसकेका छन् ।

यस्तैमा होटल तथा पर्यटन व्यवसायी महासंघले सातै प्रदेश र ७७ वटै जिल्लामा रहेका आफ्ना सदस्य होटल व्यवसायीहरुलाई व्यवसायमा फर्कन आह्वान गरिसकेको छ ।