होटल क्षेत्र खुल्यो, अस्वस्थ प्रतिस्पर्धाले जोखिम बढ्ने आशंका (भिडियोसहित)

होटल क्षेत्र खुल्यो, अस्वस्थ प्रतिस्पर्धाले जोखिम बढ्ने आशंका (भिडियोसहित)
बिहिबार, साउन १५, २०७७

काठमाडौं-कोभिड–१९ रोकथाम तथा नियन्त्रण गर्न जारी भएको लकडाउन चार महिनापछि अन्त्य भएपछि होटल, रेस्टुराँ तथा पर्यटन व्यवसाय सञ्चालनमा आएका छन् । होटल तथा पर्यटन व्यवसाय सञ्चालनमा आएपनि अन्तर्राष्ट्रिय हवाई उडान सूचारु नहुँदासम्म ठूला होटलले ग्राहक पाउने अवस्था छैन ।

त्यस्तै धेरैजसो होटलहरुको सञ्चालन खर्च नै ठुलो भएकाले त्यसलाई व्यवस्थापन गर्न र पुरानै अवस्थामा ब्युताउँन भने चुनौति देखिएको छ । सरकारले साउन ७ गतेबाट औपचारिक रुपमा लकडाउन अन्त्य भएको घोषणा गरेसँगै बन्द रहेका अधिकांश क्षेत्र सञ्चालनमा आए ।

बिहिबारदेखि पर्यटन क्षेत्र, होटल तथा रेस्टुराँ लगायत ट्रेकिङ, ट्राभल र पर्वतारोहणका कार्यालय पनि खुलेका छन् । व्यवसाय सञ्चालन आवश्यक भएपनि कोरोनाको जोखिम कामयमै रहँदा स्वास्थ्य सचेतता प्रमुख र चुनौतिपूर्ण काम हो ।

यी व्यवसाय खुलेसँगै व्यवस्थापन गर्न स्वास्थ्य मापदण्ड पालन गर्नुपर्ने छ । यी मापदण्ड सरोकारवाला निकायले अनुगमन गर्ने पर्यटन विभागका निर्देशक मणिराज लामिछाने बताउँछन् ।

सरकारले पर्यटन क्षेत्रलाई सूचारु गर्न दिएपनि होटल सञ्चालन गर्न समस्या रहेको होटल व्यवसायीले बताएका छन् । खास गरी तारे होटलका ग्राहक पर्यटक भएकाले अन्तर्राष्ट्रिय उडान सञ्चालन नहुँदासम्म होटल सञ्चालन गर्नुको अर्थ नहुने व्यवसायीहरु बताउँछन।

बाह्य उडान सञ्चालनमा आएपछि पनि पर्यटक आउने सम्भावना कम भएकाले होटलमा ग्राहक नै नहुने हुन की भन्ने चिन्तामा व्यवसायीमा छ ।अन्तराष्ट्रिय उडान सूचारु भएपछि केही पर्यटकहरु आउन सक्ने भएकाले ती पर्यटकलाई आफ्नो होटलमा तान्न पाँचतारे होटलहरुबीच प्रतिस्पर्धा हुनसक्ने देखिएको होटल संघ नेपालकी अध्यक्ष सृजना राणा बताउँछिन् ।

कोभिड १९ संक्रमणको जोखिमले पूर्ण क्षमतामा होटल सञ्चालन गर्न सक्ने अवस्था छैन् । यसबाट होटलको सञ्चालन लागत बढ्ने छ । त्यसैले खर्च उठाउन पनि होटलबीच अस्वस्थ प्रतिस्पर्धा हुने सम्भावना देखिएकाले सकारले नै न्यूनतम मापदण्ड तोकेर निर्देशन दिनुपर्ने व्यवसायीको माग छ ।

सरकारले आन्तरिक तथा अन्तरर्राष्ट्रिय उडानहरु भदौ १ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ । त्यसपछि मात्रै विदेशी पर्यटक नेपाल घुम्न आउने वातावरण बन्ने भएकाले पाँचतारे होटलको व्यवसाय पनि त्यसपछि नै सुचारु हुने व्यवसायी बताउँछन् ।

नेपालमा कोभिड १९ संक्रमण देखिएपनि कोरोनाको संक्रमणबाट हुने मृत्यु दर कम हुँनु सकारात्मक हो । त्यसैले अब होटल व्यवसाय र पर्यटकीय गतिविधि अघि बढाउन स्वास्थ्य मापदण्ड पूरा गर्दै उचित सचेतताका साथ व्यवसाय सञ्चालन गर्न आवश्यक छ ।