राजधानी प्रवेश गरेको ५ दिनपछि मात्र खेलाडीको कोरोना परीक्षण

राजधानी प्रवेश गरेको ५ दिनपछि मात्र खेलाडीको कोरोना परीक्षण
शुक्रबार, साउन १६, २०७७

काठमाडौं-राष्ट्रिय फुटबल टिमका सदस्यले काठमाडौं प्रवेश गरेको ५ दिनपछि मात्रै कोरोना भाईरसको पीसीआर परीक्षण गर्न पाउने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले काठमाडौं प्रवेश गरेको पाँच दिनपछि मात्र खेलाडीको कोरोना परीक्षण हुने जानकारी गराएको हो ।

एन्फाले राष्ट्रिय टिमको प्रशिक्षण सुचारु गर्ने लक्ष्यसहित क्याम्पमा रहेका खेलाडीलाई काठमाडौं बोलाईसकेको छ । कोरोनाको महामारीको बावजुद सरकारबाट अन्तर्राष्ट्रिय खेलकुदको प्रशिक्षण गर्न भदौ १ बाट अनुमति पाएसँगै एन्फाले राष्ट्रिय टिमको प्रशिक्षण सुरु गर्न लागेको हो । एन्फाले खेलाडीलाई आजसम्म काठमाडौं आइसक्नु पर्ने निर्देशन दिइसकेको छ ।

एन्फाले पाटन हस्पिटलबाट खेलाडीको कोरोना परिक्षण गरिने जनाएको छ । हस्पिटलसँगको साझेदारीमा एन्फा होस्टेलमै खेलाडीहरुको स्वाव संकलन गर्ने तयारी एन्फाले गरिरहेको छ । परिक्षणपछि मात्रै खेलाडीहरुलाई एन्फा होस्टेलमा राखिनेछ । कतारमा हुने फिफा विश्वकप छनोट अन्तर्गत नेपालले तीन घरेलु खेल असोज र कार्तिकमा खेल्दैछ ।

दशरथ रंगशालामा हुने तीन खेलका लागि एन्फाले ३४ खेलाडीलाई अभ्यासका लागि बोलाएको छ । शीर्ष डिभिजनको लिग समाप्त भएसँगै एन्फाले ३४ खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाएको थियो । तर, गत चैत ११ गतेबाट लकडाउन भएसँगै राष्ट्रिय टिमको प्रशिक्षण प्रभावित भएको थियो ।