निषेधाज्ञापछि महोत्तरीको सदरमुकाम जलेश्वर सुनसान

निषेधाज्ञापछि महोत्तरीको सदरमुकाम जलेश्वर सुनसान
शनिबार, साउन १७, २०७७

महोत्तरी-समुदायस्तरमा कारोना भाइरसको संक्रमण फैलिन थालेपछि स्थानीय प्रशासनले गरेको निषेधाज्ञाका कारण महोत्तरीको सदरमुकाम जलेश्वर सुनसान बनेको छ ।

निषेधाज्ञाका कारण सदरमुकाम बजार क्षेत्रमका पसलहरु बन्द छन् । अतिआवश्यक सेवाका पसलहरु मात्र खुलेका छन । निषेधाज्ञाका कारण आज मुस्लिम धर्मावलम्वीको दोस्रो ठूलो पर्व बकर इद घरमै मनाइएको छ ।

अन्य समय यस पर्वमा हजारौँको भीड सडकमा देखिने भएपनि कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै मुस्लिम धर्मावलम्वीहरुले घरमै पर्व मनाएका हुन्।

जिल्ला दैवी प्रकोप समितिले सूचना प्रकाशित गरी शुक्रबारराति ११ बजेदेखि लागू हुने गरी पाँच दिनका लागि जलेश्वरमा निषेधाज्ञा जारी गरिएको जानकारी दिएको हो ।

एक साताअघि महोत्तरी गाउँपालिका–३ बस्ने एक ६४ वर्षीय पुरुषको कोरोना संक्रमणको कारण मृत्यु भएपछि उनको शव व्यवस्थापनमा खटिएका तथा आइसोलेसन व्यवस्थापनमा खटिएका १० जना नेपाली सेना, जलेश्वरको एक सामुदायिक विद्यालयका प्रधानाध्यापक, जलेश्वर नगरपालिकाका कर्मचारी र मृतकका परिवारजनमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।